नेपालद्वारा नेदरल्यान्ड्स पराजित, ६ विकेटले जित हासिल गर्यो नेपाल



काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटले जीत हासिल गरेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५।२ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ३४ बलमा ३ चौका र १ छक्का हिर्काएका थिए ।

उनलाई गुल्सन झाले ३६ बलमा ३८ रन बनाएर साथ दिएका थिए । उनले २ चौका र एक छक्का लिन सफल भएका थिए । यसअघि ओपनर कुशल भुर्तेलले ८ बलमा १२ रन र आसिफ शेखले ८ बलमा ८ रन बनाएर आउट भएका थिए । नेदरल्यान्डसका लागि भिभियन किंगमाले ३ विकेट लिएका थिए भने आर्यन दत्तले १ विकेट लिन सफल भएका थिए ।

शनिबारको खेलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९।३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाउन सफल भएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिएका थिए । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काएका थिए । त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रनको योगदान दिन सफल भएका थिए । कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन मात्रै बनाउन पाएका थिए ।

४ खेलपछि नेपालको ४ अङ्क रहेको छ । एक खेल कम खेलेको नेदरल्यान्ड्सको समान ४ अङ्क भए पनि नेट रनरेटको आधारमा पहिलो स्थानमा रहेको छ । नामिबिया ३ खेलबाट २ अङ्कसहित तेस्रो स्थानमा छ ।


क्लिकमान्डु