दुर्घटनामा परी ६ जनाको मृत्यु, दुईजना घाइते



काठमाडौं । विभिन्न प्रकारको दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

मुगुको कार्मारोङ गाउँपालिकामा एक पुरुषको ढुङ्गा लागेर शनिबार मृत्यु भएको छ । मुगुम कार्मारोङ–६ रिउस बगरमा रहेको जलविद्युत काम गर्न घरबाट हिँडेका सोही गाउँपालिका–५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको हो ।

विद्युत् गृहको नहर पहिरोले क्षति गरेपछि वडा नं ५ र ६ का स्थानीयको शनिबार काम गर्ने पालो थियो । सोही कामका लागि मृतक लामासहित अन्य चारजना सेरोग गाउँबाट रिउस आउँदै गर्दा तिलिकछु भन्ने स्थानमा माथिबाट आएको ढुङ्गा लागेर घाइते बनाएको थियो ।

घाइते भएका लामालाई स्थानीय र पुलु प्रहरी चौकीले तत्काल उद्धार गरी पुलु स्वास्थ चौकी पुर्याए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल गमगढी लैजाँदै गर्दा बीच बाटोमा मृत्यु भएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।

यसैगरी उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३ नं को जिप दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।

वडाध्यक्ष नवीन तामाङका अनुसार कटारी–७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु भएको छ । घटनामा गम्भीर घाइते लालकुमारीको कटारी अस्पतालमा उपचार सम्भव नभई थप उपचारका लागि विराटनगर पठाइएको थियो । लालकुमारीको विराटनगरस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास राईले बताए ।

जिप चालक कटारी–८ का ३३ वर्षीय थर्मसिंह तामाङ प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

राईका अनुसार शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको जिप कटारी–७ मर्जेतपुरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १३ जना घाइते भएका थिए । घाइतेमध्ये अहिले आठजनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते रहेको वडाध्यक्ष तामाङले जानकारी दिए । अनियन्त्रित भई जिप सडकभन्दा सय मिटर तल खसेको थियो ।

त्यस्तै सुनसरीको बर्जु गाउँपालिका–६ मा पर्ने हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा २२ वर्षीय नीरज उरावको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज–७ का २० वर्षीय जयकुमार उराव, पछाडि बसेका २९ वर्षीय मनोजकुमार उराव घाइते भएका छन् ।

उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा नीरजको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको उपचार भइरहेको छ ।

यसैगरी पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा ७ बुलौंदी ओरालोमा हल्लनचोक बाट जिरो तर्फ गुडिरहेको बाप्र ०२-०३४ प ५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक बिचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा कैलालि सोरहनपुर गाउँपालिका ३ घर भएका २८ वर्षका महेस आचार्य र जानकी गाउँपालिका ३ बस्ने ३० वर्षका सैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो । उनीहरु दुर्घटनामा गम्भिर घाइते भएका थिए । दुवैजनालाई गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका वैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

मोटरसाइकल प्रहरी नियन्त्रणमा छ । दुवै जनाको शव पोष्ट मार्टमको लागि गण्डकी अस्पतालमा राखिएको उनले जानकारी दिए ।


क्लिकमान्डु