नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार



काठमाडौं । नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र सोही विश्व संस्थाका निम्ति टोङ्गाका स्थायी प्रतिनिधि भिलिमी भ्याइङ्गा टोनेले हस्ताक्षर गरेका छन् । नेपाल र टोङ्गाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्रदान गरिने पत्रमा पनि उनीहरुले हस्ताक्षर गरेका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा शनिबार बिहान आयोजित एक कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले उक्त दस्तावेजमा हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ ।

दुवै देशका राजदूतले पारस्परिक सहयोग, द्विपक्षीय सम्बन्ध विस्तारका साथै क्षेत्रीय एवं अन्तरराष्ट्रिय मञ्चहरुमा सहयोग तथा साझेदारी प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

टोङ्गाले १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेको हो । नेपाल र टोङ्गा ग्रुप ७७ र चीनका सदस्य हुन् ।


क्लिकमान्डु