हुलास मैदा बेच्ने भुदेउ खाद्य उद्योगको व्यापार वृद्धि, १ अर्ब ९ करोडको कारोबार



काठमाडौं । हुलास अर्गनाइजेसनअन्तर्गको भुदेउ खाद्य उद्योगको व्यापारमा वृद्धि भएको छ ।

सन् २०२३ मा कम्पनीको व्यापार एक अर्बमाथि पुगेको छ । सन् २०२३ मा कम्पनीको कुल ब्यापार १ अर्ब ९ करोड १० लाख रुपैयाँ पुगेको हो । यसअघिका वर्षहरुमा पनि कम्पनीको व्यापार वर्षेनी बढिरहेको थियो ।

सन् २०२१ मा कम्पनीले ८३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा कम्पनीले ९५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००१ मा सुरु भएको भुदेउ खाद्य उद्योग प्रालि प्रदेश १ को विराटनगरमा दर्ता रहेको कम्पनी हो । यो कम्पनीले धानलाई प्रतिउत्पादन गरेर चामलसँगै हुलास मैदा, सुजि, दाल, आँटा, पिठो, हुलास भुजाजस्ता उत्पादनहरु गर्दै आएको छ । सँगै यो कम्पनीले हन्स राइस मिलको पनि सुरुवात गरेको छ ।

कम्पनीसँग वर्षेनी १९ हजार ८ सय मेट्रिक टन उत्पादन हुने गरिको कारखाना लालबन्दी सिराहामा रहेको छ । कम्पनीसँग नेपालभरमा ८ वटा शाखा कार्यालयहरु पनि रहेको छ ।

दुई दशक लामो समयदेखि सञ्चालनमा रहेको कम्पनीको बोर्डमा गोल्छा परिवारका सदस्यहरु रहेका छन् भने यो कम्पनी गोल्छा ग्रुप अन्तर्गतकै कम्पनी हो । कम्पनीका अध्यक्ष लोकमान्य गोल्छा हुन् ।

हालका लागि कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई ६८ करोडको दीर्घकालीन कर्जा सुविधाका लागि बि प्लस र ९२ करोडको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु