बजेटमा गरिएको घोषणाअनुसार नेपाल माउन्टेन एकेडेमीलाई नाथममा गाभ्ने सरकारको निर्णय



काठमाडौं । सरकारले पर्वतारोहण सम्बन्धी तालिम तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको नेपाल माउन्टेन एकेडेमीलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा गाभ्ने निर्णय गरेको छ ।

गत माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले दुई संस्था गा‍भ्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पयर्टन मन्त्रालय मातहत रहेका एकै प्रकारका दुई शैशिक संस्थालाई गाब्दै एउटा संस्था बनाउने घोषणा गरेको थियो ।

संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले गत मंसिरमै माउन्टेन एकेडेमिलाई नाथमलाई गाभ्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको थियो । तर, विभिन्न स्वार्थ समूहको सक्रियताले २ महिनासँग मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा रोकिएको थियो ।

गत माघ अन्तिमसाता मन्त्रिपरिषद्ले माउन्टेन एकेडेमीलाई नाथममा गाभ्दै ३ महिनाभित्र एकीकृत रुपमा सञ्चालन गर्ने वातावरण बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हेमराज तामाङको नेतृत्वमा समिति गठन गरेको छ ।

तामाङ नेतृत्वको समितिलाई माउन्टेन एकेडेमीमा कार्यरत कर्मचारी तथा सम्पत्ति व्यवस्थान सम्बन्धी मोडालिटी टुंगो लगाउँदै ३ महिनाभित्र नाथम मातहत सञ्चालनमा ल्याउने जिम्मेवारी दिइएको छ ।

सरकारले माउन्टेन एकेडेमीलाई नाथममा गाभ्ने निर्णय गरेसँगै बिगतमा नाथमको कार्यकारी निर्देशक उपसचिव हुँदै आएकोमा सहसचिवलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । हाल नाथमको कार्यकारी निर्देशक ढुण्डीप्रसाद निरौला छन् ।

हाल नाथममा मास्टर्स इन हस्पिटालिटी म्यानेटमेन्ट (एमएचएम), ब्याचलर्स अफ होटल म्यानेटमेन्ट (विएमएम) र ब्याचलर्स अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) विषय पढाइ हुन्छ ।

यसका अतिरिक्त नाथमले ट्रेकिङ गाइड, टुरिष्ट गाइड, कुकिङ, हाउसकिपिङ, बेकरी, कफी मेकिङ जस्ता तालिम पनि सञ्चालन गर्ने गरेको छ । यस्तै, नेपाल माउन्टेन एकेडेमीमा ब्याचलर्स अफ माउन्टेनियरिङ स्टडिज, मास्टर्स अफ एडभेन्चर टुरिजम स्टडिज विषय पढाइ हुन्छ ।

एकेडेमीले स्की, ट्रेकिङ गाइड, हाइ माउन्टेन गाइड, माउन्टेन सेफ्टि फस्ट एड ट्रेनिङ पनि सञ्चालन गर्ने गरेको छ । दुबै संस्थाले गर्ने काम एकै प्रकृतिको भएकाले मन्त्रालयले छुट्टा छुट्टै संस्था सञ्चालन गर्नुभन्दा पनि माउन्टेन एकेडेमीलाई नाथममा मर्ज गर्दै माउन्टेन एकेडेमीले गर्दै आएका सबै कामहरु गर्ने जिम्मेवारी नाथमलाई दिने निर्णय गरेको हो ।

हाल माउन्टेन एकेडेमीको अध्यक्ष रहेका उङ्दी छिरिङ शेर्पालाई नाथम सञ्चालक समितिको उपाध्यक्ष बनाउने गरी गठन आदेश संशोधन गर्ने मन्त्रालयको तयारी छ ।

माउन्टेन एकेडेमीमा स्थायी कर्मचारी नभएकाले करारमा कार्यरत कर्मचारीलाई आवश्यकताका आधारमा जिम्मेवारी दिने सरकारको तयारी छ ।

गाभ्ने प्रक्रिया सम्पन्न भएपछि हाल माउन्टेन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु नाथममा अध्ययन गर्ने छन् । दुबै संस्थाले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएकाले हाल माउन्टेन एकेडेमीको नाममा भएको सम्बन्ध नाथमको नाममा सारिनेछ ।


क्लिकमान्डु