हुलास आइरनको व्यापार बढ्यो, सवा ३ अर्बको कारोबार



काठमाडौं । हुलास ग्रुपअन्तर्गतको हुलास आइरन इन्डस्ट्रीज लिमिडेटको व्यापारमा वृद्धि भएको छ ।

सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा कम्पनीको व्यापारमा २.७९ प्रतिशत वृद्धि भएको हो । कम्पनीले सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा ८ करोड ५० लाख रुपैयाँ बढीको व्यापार गरेको छ ।

हुलास आइरन इन्डस्ट्रीजले सन् २०२१ मा १४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा भने सन् २०२१ को तुलनामा उच्च वृद्धि भएर ३ अर्ब ४ करोड ३० लाख रुपैयाँको व्यापार भएको थियो ।

सन् २०२३ मा कम्पनीले ३ अर्ब १२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

व्यापारमा वृद्धि भइरहँदा कम्पनीको एबिट्डा मार्जिनमा भने कमी आएको छ । सन् २०२१ मा ६.५९ प्रतिशत रहेको मार्जिन सन् २०२२ मा वृद्धि भएर ६.९५ प्रतिशत पुगेको थियो ।

सन् २०२३ मा भने सन् २०२२ को तुलनामा मार्जिनमा कमी आएको छ । सन् २०२३ मा कम्पनीको मार्जिन ६.५२ प्रतिशतमा सीमित भएको छ ।

हुलास ग्रुपको लगानीमा सन् २०१७ मा निजी कम्पनीका रुपमा खुलेको यो कम्पनी सन् २०२३ मा पब्लिक कम्पनी बनेको थियो । कम्पनीले वीरगञ्जमा रहेको आफ्नो कारखानाबाट विभिन्न किसिमका आइरन पाइप, काँटी, तारलगायतको उत्पादन गर्दै आएको छ ।

सन् २०२१ बाट व्यवसायिक उत्पादन सुरु गरेको कम्पनी सन् २०२२ बाट पूर्ण क्षमतामा उत्पादन गर्ने गरि सञ्चालनमा आएको थियो । हाल कम्पनीसँग दैनिक १ लाख ५ हजार ७६५ मेट्रिक टन प्रति दिनको उत्पादन गर्ने गरि कारखाना सञ्चालन गरिरहेको छ ।

हुलास ग्रुपअन्तर्गत कम्पनीमा गोल्छा परिवारको ९० लगानी रहेको छ भने प्रतिनिधित्व सिके गोल्छाले गरिरहेका छन् ।
कम्पनीले ५ अर्ब ५८ करोड २५ लाख रुपैयाँको कर्जा सुविधाको रेटिङ गराएको छ । रेटिङ एजेन्सी ईक्रा नेपालले कम्पनीलाई १ अर्ब २१ करोड २५ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि डबल बि र ४ अर्ब ३७ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिंग दिएको छ ।


क्लिकमान्डु