रास्वपा सांसदको प्रश्न: सर्वसाधारणले घर बनाउँदा प्रयोग गर्ने गुणस्तरहीन छडको जिम्मेवारी कसले लिन्छ ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गुणस्तरहीन छडबाट सर्वसाधारण नागरिकहरुले बनाएका संरचनाहरुको सुनिश्चितताबारे ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले निर्माण कार्यमा प्रयोग हुने गुणस्तरहीन छडहरुको कारण सर्वसाधारण नागरिकले बनाएका संरचनाहरु जोखिमयुक्त रहेको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

निर्माण प्रक्रियामा सरकारले बनाउने ठूला योजनाहरुमा गुणस्तर मापन हुने तर सर्वसाधारण नागरिकले बनाएका संरचनामा छडजन्य सामग्रीहरुको गुणस्तर मापन नहुने भएकाले सरकारले विशेष जोड दिएर अघि बढ्न आवश्यक रहेको उनले बताए ।

सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा आवश्यक हुन्छ भन्नेबारेमा पनि छलफल हुन जरुरी रहेको उनले बताए ।


क्लिकमान्डु