सहकारीमा बढ्दो बेथिति: महासंघको भूमिकामा उठ्न थाल्यो प्रश्न



काठमाडौं । सहकारी संस्थाहरुमा बढ्दो बेथिति, चुलिँदै गएको समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघको भूमिकामाथि प्रश्न उठन थालेको छ ।

बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’ मा महासंघको भूमिकामाथि प्रश्न उठेको हो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी महासंंघले सहकारी क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ की छैन भन्ने विषयमा छलफल गर्न आवश्यक भएको बताए ।

पछिल्लो समय सहकारी संस्थाले बचतकर्तालाई ठगेको भन्दै प्रहरी, नियामन निकाय, स्थानीय तहमा उजुरी बढ्दो रहेको छ । सहकारी संस्थाहरु पनि कर्जा उठाउन नसकेर समस्यामा परेका छन् । यस्तो समयमा पनि महासंघ गुमनाम जस्तै भएको सहकारी अधियान्ताहरुको बुझाई छ ।

यही समयमा नेफ्स्कूनका अध्यक्ष ढकालले महासंघको भूमिकामा प्रश्न उठाएका हुन् । अध्यक्ष ढकालले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । अभियानलाई सुदृढ पार्नका लागि सबै पक्षले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उनको धारणा छ ।

‘सबै मिलेर सहकारीको वर्तमान भ्रम चिर्नु पर्छ’ उनले भने, ‘पछिल्लो समय सहकारीमा यथार्थभन्दा बढी समस्याका कुरा मात्रै बाहिर आएका छन् ।’

कार्यक्रममा बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारी सस्थाहरुलाई सुशासित र मर्यादित बनाउनको लागि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ प्रतिवद्ध रहेकोे बताए ।

‘सहकारी क्षेत्रमा भएको जोखिम ब्यावस्थापनको लागि नै संघ केन्द्रित रहेको छ’, उनले भने । साकोस समिट सहकारी क्षेत्रमा सदस्यहरुको बचतको सुरक्षा गर्ने, देखिएका जोखिमलाई न्यूनीकरण विषयमा केन्द्रित हुने उनको भनाइ छ ।

सहकारी अभियानलाई नीति र विधि अनुसार लैजानको लागि संघ सधै प्रतिवद्ध रहेको उनको भनाई छ । सहकारी क्षेत्र मजबुत बनाउनको लागि सबै निकायसँग मिलेर जानु पर्ने उनले औल्याए ।


क्लिकमान्डु