सडक दस्तुर उठाएका ६ कम्पनीले बोर्डलाई तिरेनन् पैसा, ३५ दिनभित्र रकम तिर्न निर्देशन



काठमाडौं । सडक बोर्ड नेपालले सडक उपभोग दस्तुर संकलन गर्न सम्झौता गरेका विभिन्न ६ कम्पनीहरुले उठाएको रकम सडक बोर्डलाई नतिरेको पाइएको छ ।

सडक बोर्डले सूचना प्रकाशित गर्दै विभिन्न ६ कम्पनीहरुले बोर्डमा तिर्नु तथा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता, हर्जना, मूल्य अभिबृद्धि कर बुझाउन बाँकी रहेकाले तिर्न निर्देशन दिएको छ । लेखापरीक्षणको क्रममा बेरुजु समेत भएकाले बोर्डमा बुझाउनुपर्ने रकम तत्काल बुझाउन भन्दै सूचना प्रकाशित गरिएको बोर्डले जनाएको छ ।

यी कम्पनीले पटक पटक बोर्डमार्फत पत्राचार हुँदा पनि रकम बुझाउन नआएको बोर्डले सूचनामा उल्लेख गरेको छ ।

रकम नबुझाउने कम्पनीहरुमा मकवानपुरको व्रिटानिका मौलाकालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले ३ करोड ३६ लाख ३६ हजार रुपैयाँ, भैरहवाको बाबुल निर्माण सेवा प्रालिले ३ लाख ८० हजार रुपैयाँ, काठमाडौंको महादेव खिम्ती निर्माण सेवा प्रालिले १८ लाख १७ हजार, काठमाडौंको रविना कन्स्ट्रक्सन कम्पनी प्रालिले २७ लाख ३३ हजार, भक्तपुरको एमएम कन्स्ट्रक्सन कम्पनी प्रालिले २ करोड ८ लाख १४ हजार र काठमाडौंको तुँदी कन्स्ट्रक्सन कम्पनी प्रालिले ६४ लाख ३८ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ ।

बोर्डले आगामी ३५ दिनभित्रमा रकम तिर्न र सो नगरेमा आर्थिका कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ९० को उपनियम १० बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने पनि जनाएको छ ।


क्लिकमान्डु