तत्कालीन सेञ्चुरी बैंकका सीईओसहितका १० कर्मचारीलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओ तथा पूर्वसीईओसहितका १० जनालाई ७ दिन हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुमति पाएको छ ।

ब्यूरोले धितोभन्दा बढी कर्जा प्रवाह गर्ने कार्यमा संलग्न प्रबन्ध निर्देशक सहितका १० जनालाई मंगलबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरि उच्च अदालत पाटनबाट दिन ७ (सात) को म्याद थप गरि बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान गरिरहेको जनाएको हो ।

तत्कालीन सेञ्चुरी कमर्शियल बैंकबाट कर्जा लिने रबिन्द्र चौलागाई र उनी आवद्ध कम्पनीहरु पूजा ट्रेडिङ्ग एण्ड मार्केटिङ्ग कम्पनी प्रालि, थ्री ब्रदर्स मार्केटिङ्ग प्रालि, पूजा मार्केटिङ्ग प्रालिर अन्नपूर्ण डिष्टिलरी प्रालि समेतलाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरिएको ब्यूरोले जनाएको छ ।
उक्त धितोवापत २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको ब्यूरोले जनाएको छ ।

धितोको मूल्यांकनभन्दा अधिक ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ कर्जा प्रवाह भएको प्रहरीले जनाएको छ ।

उक्त प्रकरणमा मनोज न्यौपाने,राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ,अनुपमा श्रेष्ठ मान्नधर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत रहेको सीआईबीले जनाएको छ ।


क्लिकमान्डु