भुक्तानी नपाएपछि आन्दोलन चर्काउँदै दुग्ध किसान, ३० स्थानमा चक्काजामको तयारी



काठमाडौं । दुध बिक्री गरेको रकम भुक्तानी नभएको बिरोधमा दुग्ध क्षेत्रका किसानसम्बद्ध विभिन्न संघ संगठन आन्दोलनमा उत्रिएका छन् । उनीहरुले देशका विभिन्न स्थानमा चक्काजाम गर्ने जनाएका छन् ।

केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यका अनुसार आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुग्लिनलगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने तयारी भएको हो ।

दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा सो चक्काजाम गरिने आचार्यले जानकारी दिए । आचार्यले दुधको बक्यौता रकम उपलब्ध गराउनुपर्ने माग राख्दै मंगलबार देशभरको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको जानकारी दिए । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले १ अर्ब र निजी क्षेत्रका डेरी उद्योगीहरुले साढे ५ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी छ ।

यसैबीच ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयमा ११ बुँदे ज्ञापन पत्र बुझाउँदै उक्त कार्यालय अगाडि संघले ८० लिटर दुधसमेत पोखेका छन् ।


क्लिकमान्डु