सहकारीमा अहिले देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीका यस्ता छन् सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा अहिले देखिएको समस्या समाधान गर्नका लागि केही सुझाव दिएका छन् ।

गभर्नर अधिकारीले सहकारीका समस्या समाधान गर्नका लागि आफुले केही सुझाव विभिन्न ठाउँमा दिएको जनाएका छन् ।
सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’विषयक अन्तरक्रिया कार्यक्रममा अधिकारीले यस्तो बताएका हुन् ।

‘वचतकर्ताको कम्पोजिशन कस्तो छ, कति वचतकर्ता कस्ता किसिमका छन् ? साना कति छन्, ठूला कति छन्’ सबै रेकर्ड छ’ उनले भने, ‘ अहिले सानालाई सेटल गर्न बढिमा १० प्रतिशत रकमले सेटल गर्ने हो भने सहकारीका अरु बचतकर्ता आफैँ चुप लाग्नुहुन्छ । क्रमशः रिजोलुशनको पाटोमा जाने हो भने खासै समस्या छैन । अहिलेको समस्या समाधान गर्न सकिन्छ ।’

सहकारीका समस्या समाधान गर्नका लागि अहिलेसम्म विभिन्न रिपोर्ट बनेको, विभिन्न अध्ययन भएको भएपनि समस्या समाधान नभएको उनको तर्क छ । ‘सहकारीको समस्या समाधान गर्न छुट्टै नियामक चाहिन्छ । त्यो विषय बजेटमा पनि उल्लेख छ’ उनले भने ‘बजेटमा नै भएको विषयलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरौ, छुट्टै नियामक निकाय खोलौ र अहिले समस्यामा रहेका सहकारीलाई रिजर्भ गरौ । यो समस्याको समाधान हुन्छ् ।’

अधिकारीले सहकारी संस्थामा देखिएको समस्याको प्रत्यक्ष परोक्ष असर बैंकिङ क्षेत्रमा पनि परेको बताए । ‘अहिले ठूला ऋणीले ऋण माग गर्न सक्ने स्थिति छैन । यो बढाउन हामीले अन्य विषय छुनुपर्छ । अहिले बैंकिङ क्षेत्रमा धेरै चूनौती रहेका छन्’ उनले भने ‘त्यसमा मुख्य चुनौती भनेको सहकारीको पनि हो । हाम्रो अर्थतन्त्र सहकारी र अनौपचारीक अर्थतन्त्रले निकै असर पारेको छ ।’

अहिले अधिकांश सटर बन्द भएका र खुला भएका पनि बैंकमा भन्दा सहकारीमा जाने, साना पसलेले पनि सहकारीमा बचत गर्ने, कर्जा लिने गरेका छन् ।

‘सहकारीमा बचत पनि एक जनाले एउटा संस्थामा मात्रै होइन, ४÷५ वटा सहकारीमा बचत गरेका छन्, साना साना कर्जा त्यही सहकारीबाट लिने गरेका छन्’ उनले भने, ‘तल्लो तहमा बैंकको सेवा कम भएकाले यस्तो भएको हो ।’

उनले थपे, ‘बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या १९ लाख पनि पुगेको छैन । पसलहरुको संख्या त्यतिमात्रै होइन । त्योभन्दा बढी नै छन् । धेरै ग्राहकले सहकारीसँग मिलेर काम गरेका छन् । सहकारीमा समस्या देखिएपछि बैंकहरुको रिपेमेन्टमा पनि समस्या आएको छ ।’ सहकारीको समस्याका कारण ऋणीहरु चटपटाउन नसक्ने अवस्था आएको उनको भनाइ छ ।


क्लिकमान्डु