लगानीकर्ताको पैसा नतिर्ने सिप्ला सेक्युरिटिज ३ दिन निलम्बनमा, १० हजार लगानीकर्ताको सम्पत्ति बन्धक



काठमाडौं । पछिल्लो केही समय धितोपत्र दलाल व्यबसायीहरुले सेयर लगानीकर्ताले बिक्री गरेको सेयरका पैसा नदिएर लगानीकर्ता तनाबमा परेका छन् ।

लगानीकर्ताले सेयर खरिद बिक्री गरेको दुई कार्य दिनमा राफसाफ नगरे क्लोज आउटमा पार्ने धितोपत्र दलालहरुले यतिबेला लगानीकर्ताले बिक्री गरेको सेयरको पैसा नदिएर हैरान बनाउन थालेका छन् । ब्रोकरहरुले विभिन्न बाहनामा लगानीकर्तालाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् ।

ब्रोकरहरुले लगानीकर्तालाई समयमा नै भुक्तानी नगर्दा धितोपत्र बोर्डमा उजुरी बढ्दै गएको छ । बोर्डमा ब्रोकरले पैसा नदिएको भन्दै उजुरी बढेपछि बोर्डका कर्मचारीहरु पीडित लगानीकर्तालाई पैसा पाउने वातावरण बनाउनु भन्दा पनि ब्रोकरसँग बाग्रेनिङ गर्न थाल्दा लगानीकर्ता थप पीडित बनिरहेका छन् ।

त्यसको पछिल्लो उदाहरण हो, सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) प्रा.लि ।

उक्त ब्रोकरले लगानीकर्ताको पैसा नदिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उक्त ब्रोकरलाई तीन दिन निलम्बन समेत गरेको छ । उक्त ब्रोकरले आफ्ना १० हजार ग्राहक छन् भनेर वेबसाइटमै राखेर छ ।

ब्रोकरले तोकिएको समय भित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै नेप्सेले ३ कार्यदिनका लागि निलम्बन गरेको जनाएको छ ।
लगानीकर्ताको पैसा नदिने ब्रोकरलाई नेप्सेले तीन दिन निलम्बन गरेपछि ब्रोकरलाई भन्दा बढी नोक्सान लगानीकर्तालाई हुने गरेको छ ।

ब्रोकरले गरेको कमजोरीका कारण लगानीकर्ता मारमा पर्ने गरेका छन् । पछिल्लो समय धितोपत्र बोर्डमा पनि ब्रोकरले पैसा दिएनन् भनेर पुरानो ब्रोकरका विरुद्ध उजुरी पर्ने क्रम बढेको छ ।

‘ब्रोकरले पैसा दिएर भनेर उजुरी निकै आइरहेका छन् । बोर्डमा आएका उजुरी हत्तपत्त दर्ता नै हुँदैनन्, सकेसम्म उजुरीकर्तालाई ब्रोकरसँग आफैं मिल्नु भन्छन्, दर्ता भइहाले पनि सेबोनका केही व्यक्तिहरुको कमाइखाने भाँडो बन्ने गरेको छ’ बोर्डका एक कर्मचारीले भने, ‘पीडितले उजुरी लिएर आएपछि उनीहरुले समयमा नै पैसा पाउने अवस्था छैन । बोर्डमा उजुरी आएपछि बोर्डले पनि त्यही अनुसार एक्सन लिने हो भने एउटै ब्रोकरको पटक–पटक उजुरी आउने नै थिएनन् ।

ब्रोकरले गरेको गल्तीका असर लगानीकर्तामा पर्न नदिनका लागि लगानीकर्तालाई आवश्यकता अनुसार डिम्याट खोल्न दिनु पर्ने, एउटा ब्रोकरले गल्ती गरेर कारोबार नभएको खण्डमा अन्यत्रबाट कारोबार गर्न पाउने व्यवस्था गर्नुपर्ने लगानीकर्ताको माग रहेको छ ।

लगानीकर्तालाई ठगेर ब्रोकर मोटाउने, त्यस्ता ब्रोकरलाई नेप्सेले कारबाही गर्दा लगानीकर्ता थप पीडित हुनुपरेको छ ।

ब्रोकरको कमजोरीका कारण लगानीकर्ता आफ्नो सम्पत्ति बिक्री गर्न र लगानी गर्न समेत बन्चित भएका छन् । यसलाई कम गर्न अक्सन मार्केट र सेटलमेन्ट ग्यारेन्टि फण्ड कार्यान्वयनमा ल्याउनु पर्ने ब्रोकरहरु नै बताउँछन् ।


क्लिकमान्डु