काठमाडौं महानगरले माग्यो १४० जना ‘सिटी भोलेन्टियर’, हप्तामा २ दिन समय दिनुपर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले १४० जना महानगर स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । यो २४ हप्ताका लागि हो ।

आवेदकमा छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयंसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयंसेवक लिन लागिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो।

‘यसमा सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्छ,’ झाको भनाइ छ ।

महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधान भन्छिन्, ‘बाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रीत छ । सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ । यसमा बालबालिका र युवा दुवै अट्टाउँछन् । यो प्लेटफर्ममा पैसा तिरेर प्राप्त गर्न नसकिने कुरा पाइन्छ ।’

फाराम भर्नका लागि गुगल डकुमेन्टमा लिङ्क उपलब्ध छ । आफ्नो पूरा नाम थर, स्थायी अस्थायी ठेगाना, रुचि भर्नु पर्छ । यसमा आफू कुन विधामा इच्छुक हो, बाबा या सम्युवामध्ये एउटालाई छान्नुपर्छ । त्यो क्षेत्रमा किन स्वयंसेवक बन्न खोजेको हो, त्यसका बारेमा २ सय शव्द सम्ममा धारणा लेखेर पठाउनुपर्छ । यसैगरी वायो डाटा अपलोड गर्नुपर्छ । यो फाराम आउँदो आइतबार (फागुन २० गते) राती ११ बजेर ५९ मिनेटभित्र भर्न सकिन्छ ।

समय दिन सक्ने आवेदकको अवस्था छनोटको मुख्य आधार हो । यसमा ६० प्रतिशत समय दिन सक्ने स्वयंसेवकलाई प्रमाण पत्र दिइनेछ ।

स्वयंसेवकका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने पेजमा माग गरिएका विवरण भर्न सकिन्छ ।


क्लिकमान्डु