लघुवित्तपीडित संसद भवन प्रवेश प्रकरण: छानबिनका लागि समिति गठन, ४९ जना पक्राउ



काठमाडौं । नयाँ बानेश्वस्थित संघीय संसद भवनभित्र लघुवित्तपीडित प्रवेशको घटना छानबिनका लागि समिति गठन भएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटना छानबिनका लागि समिति गठन गरेको हो ।

एसएसपी दिनेश मैनालीको संयोजकत्वमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन भएको हो ।

संसद भवनको सुरक्षा व्यवस्थाबारे चिन्ता व्यक्त गर्दै सभामुख देवराज घिमिरेले आईजीपी वसन्त कुँवरलाई फोन गरेका थिए । त्यसक्रममा कुँवरले समिति गठन भएको जानकारी दिएका थिए ।

निषेधित क्षेत्रको कडा सुरक्षा घेरा तोडेर सोमबार लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेका थिए । निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्तपीडितलाई नियन्त्रणमा लिएको छ ।

सङ्घीय संसद् भवन क्षेत्र वरपर सरकारले तोकेको निषेधित क्षेत्र तोडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

‘सरकारले सङ्घीय संसद् वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेकामा आज लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिएका हौँ’ उनले भने ।

नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । केही समययतादेखि उनीहरु काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका छन् ।


क्लिकमान्डु