‘आगामी वर्ष जलविद्युत प्राथमिकतामा’



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक बर्षमा जलविद्युत क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने बताएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सोमबार प्रतिनिधि सभामा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री महतले पेस गरेका थिए ।

सोही क्रममा उनले आगामी आर्थिक बर्षमा जलविद्युतमा आन्तरिक र बाह्य लगानी प्रवद्र्धन गरी उत्पादन बृद्धि गर्ने जानकारी दिएका हुन् । महतले जलविद्युतको आन्तरिक खपतमा बृद्धि गरी मुलुकमा हरित अर्थतन्त्रको विकास गर्न जोड दिइने बताए ।

‘जलविद्युतलाई अर्थतन्त्रको महत्वपूर्ण मेरूदण्डको रुपमा विकास गरी आन्तरिक आवश्यकता पूर्तिका साथै निर्यातमा जोड दिइनेछ,’ विनियोजित विद्येयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै मन्त्री महतले भने,‘निर्माणाधीन विद्युत आयोजनाहरू र प्रशारण लाइनको लागत मूल्य बढ्न नदिन निर्धारित समयमा नै सम्पन्न गर्न जोड दिनुका साथै हिउँद याममा हुने ऊर्जा आपूर्तिको कमी पुरा गर्न ठूला तथा जलाशययुक्त आयोजनाहरूको निर्माण प्रारम्भ गरिनेछ ।’

विद्युत सेवाको पहुँच नपुगेको क्षेत्रमा विद्युत सेवा उपलब्ध गराउन सौर्य ऊर्जा र अन्य नवीकरणीय ऊर्जाको विकासमा जोड दिइने उनले बताए । अन्तरदेशीय विद्युत प्रशारण लाइनको निर्माण गरी विद्युत निर्यातको लागि आवश्यक पूर्वाधार तयार गर्नुका साथै ग्रिन हाइड्रोजनको विकास र लगानीको सम्भाव्यता अध्ययनलाई अघि बढाइने उनले बताए ।


क्लिकमान्डु