बैंकविरुद्ध आन्दोलन भइरहँदा पनि सरकारले सहयोग गरेन: सुनिल केसी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकका बिषयमा सडक आन्दोलनले समस्या हुँदै गएको बताएका छन् ।

सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’विषयक अन्तरक्रियमा अध्यक्ष केसीले बैंकको ऋण तिर्दिन भनेर आन्दोलन भएको र त्यसको असर लघुवित्तमा बढी परेको बताए । बैंकविरुद्ध आन्दोलन भइरहँदा पनि सरकारले सहयोग नगरेको भन्दै उनले दु:ख व्यक्त गरे ।

‘केही समययता बैंकको ऋण तिर्दिन्न भन्दै आन्दोलन भइरहेको छ । त्यसको असर बैंकभन्दा बढी लघुवित्तमा देखिएको छ,’ केसीले भने, ‘बैंक वित्तीय क्षेत्रविरुद्ध आन्दोलन भइरहँदा पनि सरकारले सहयोग गरेको छैन ।’

उनले पछिल्लो समय बैंकको व्याजदर घट्दोक्रममा रहेको र यसले बैंकिङ क्षेत्रलाई स्थीर बनाउने बताए ।

‘पछिल्लो समय ब्याजदर घट्दोक्रममा रहेको छ’ उनले भने, ‘११ प्रतिशतभन्दा बढी रहेको ब्याजदर अहिले साढे ५ प्रतिशतमा रहेको छ । यसले बैकिङ क्षेत्रलाई स्टेबल बनाउने छ ।’

पछिल्लो समय आरओई घटेको, वितरणयोग्य नाफा घटेको भन्दै उनले यसलाई कसरी रोक्ने भन्ने चिन्ता बढेको बताए । अझै दुई क्वाटरमा यो समस्या बढ्ने उनको भनाइ छ ।

अहिले बैंकको ऋण नउठ्दा केही समस्यामा पर्ने उनको तर्क छ । उनले कोरोनाको समयको असर अहिले खराब कर्जामा परेको बताए ।

सरकारले निर्माण क्षेत्रमा सहयोग नगर्दा, साना तथा मझौला उद्योगमा समस्या भएको र त्यसको असर खराब कर्जामा परेको उनको भनाइ छ । तर पनि नेपालको बैंकिङ क्षेत्र बलियो रहेको उनको भनाइ छ ।

‘कोरोनाको समयको असर अहिले खराब कर्जामा देखिएको छ,’ उनले भने, ‘अझै पनि नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामा नै बलियो छ ।’ अहिले गैह्र बैंकिङ सम्पति बढ्न थालेको उनले बताए ।


क्लिकमान्डु