अस्पतालबाट बच्चा चोर्ने महिलाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा, १० वर्षसम्म हुन सक्छ जेल



काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौंको कागेश्वरी मनोहरा-९ काँडाघारी बस्ने मनकुमारी सिंहबिरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरेको हो ।

मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेकी थिइन् । उनले सहयोग गर्ने भन्दै अस्पतालबाट बच्चा चोरेकी थिइन् । उनले बच्चा लगिरहेको सीसीटीभी फुटेजमा लगेपछि प्रहरीले खोजीलाई तिब्रता दिएको थियो ।

प्रहरीले उनलाई काँडाघारीस्थित डेराबाट पक्राउ गरेको थियो । आफूले बच्चा जंगलमा भेटेको सुरुमा बताएकी उनले पछि आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा उनका पति र दिदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर घटनामा संलग्नता नदेखिएपछि उनीहरु छुटेका थिए ।

बिबाह गरेको केही वर्ष वितिसके पनि बच्चा नभएपछि अस्पताल पुगेर बच्चा चोरेको उनले स्वीकार गरेको प्रहरीको भनाइ छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्नता पुष्टि भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।


क्लिकमान्डु