प्रधानमन्त्रीसँग एनआरएनएका स्वघोषित अध्यक्ष शर्मा नेतृत्वको टोलीको भेट, ललिता निवासमा रहेको भवन बारे छलफल



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का स्वघोषित अध्यक्ष आरके शर्मा नेतृत्वको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ ।

समूहका अध्यक्ष राजेन्द्रकुमार शर्मा नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भए पनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष शर्माले जानकारी दिए ।

‘अदालतको फैसलालाई सम्मान गर्दै अहिले एनआरएनए रहेको मुख्यालय लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’शर्माले भेटपछि भने,‘सम्माननीय प्रधानमन्त्री ज्यूले नागरिकतामा पाउने अधिकारहरुको विषयमा छिटै कानुनी व्यवस्था हुने र नियम अनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दिनु भएको छ।’

प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए ।

एनआरएनए शर्मा समूहका उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवनको लागि जग्गा किन्नेहरु दोषी रहेको भन्दै उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने बताए । उनले आफुहरु यो विरुद्ध अदालतमा जाने पक्षमा नरहेको जानकारी प्रधानमन्त्रीलाई दिए ।


क्लिकमान्डु