सरकारी नियकायमा एकैदिन २४० जनालाई रोजगारीको अवसर, कहिलेसम्म भर्ने फारम ?



काठमाडौं । शुक्रबार तीन सरकारी निकायले २४० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले विभिन्न पदमा २४० जनालाई रोजगारीका लागि आवेदन माग गरेको हो ।

कृषि विकास बैंकमा ११२ जना माग

यसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ११२ पदमा कर्मचारी माग गरेको हो ।

शुक्रबार सूचना प्रकाशन गर्दै कृषि विकास बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म ११२ जना कर्मचारी पदपूर्तिका दरखास्त आह्वान गरेको छ ।

बैंकले ८ औं तहमा अधिकृत स्तरका २ जना शाखा प्रमुख, ७ औं तहका २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत माग गरेको हो ।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ ।

ती पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने सूचनामा जनाइएको छ।

उड्डयन प्राधिकरणमा ९८ जनाको माग

शुक्रबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागे भएको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन खुलाएको हो ।

त्यस्तै प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ । प्राधिकरणले चैत १ गतेसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म फाराम भर्न सकिने जनाएको छ ।

कर्मचारी सञ्चयकोषले माग्यो ३० जना कर्मचारी

त्यस्तै कर्मचारी सञ्चय कोषले नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना, सहायक प्रबन्धकमा १२ जनाको आवेदन माग गरेको छ ।

जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन् । त्यस्तै प्रशासनतर्फ १ जना र प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ ।

पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ । जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २/२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ। २१ दिनभित्र दरखास्त दिनुपर्ने सूचनामा जनाइएको छ।


क्लिकमान्डु