माधव नेपाल लक्षित ओलीको टिप्पणीः पार्टी फुटाउने तत्वसँग एकता हुँदैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

उनले दुई तिहाइको पार्टी फोडेकोमा पश्चताप नगर्ने, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरुलाई एमालेमा प्रवेश नगराउने बताए ।

‘कुनै हिसावले कुनै समयमा गल्ती भयो भने त्यसमा महशुस गरेर अघि बढ्ने हो । कतिपय तत्वहरुसँग हाम्रो एकता हुँदैन र उनीहरुले प्रवेश पाउँदैनन् । किनभने उनीहरुलाई दुई तिहाईको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन । गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महशुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ,’ उनले भने ।

पार्टी प्रवेश गर्नेहरुमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायतका नेताहरु रहेका छन् ।


क्लिकमान्डु