चैत १ गतेदेखि व्यक्तिगतभन्दा संस्थागत मुद्दति निक्षेपमा १ प्रतिशत कम ब्याज दिनुपर्ने



काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत निक्षपकर्तालाई दिनेभन्दा संस्थागत निक्षेपकर्तालाई १ प्रतिशतभन्दा कम मात्रै ब्याज दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै व्यक्तिगतभन्दा १ प्रतिशत कममात्रै संस्थागत मुद्दति दिन पाउने व्यवस्था चैत १ गतेदेखि लागू गरेको हो ।

‘संस्थागत मुद्दति निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ, उपयुक्त बमोजिमको व्यवस्था २०८० चैत १ देखि लागु हुनेछ,’ राष्ट्र बैंकको नियमन विभागले जारी गरेको परिपत्रमा भनिएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतमुद्दति निक्षेपमा दिएको ब्याजभन्दा संस्थागत मुद्दति निक्षेपमा २ प्रतिशत कम ब्याज दिँदै आएका छन् । पछिल्लो समय बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर तीब्र गतिमा घटाइरहेका थिए । जसले गर्दा संस्थागत निक्षेपकर्तालाई २ प्रतिशत कम ब्याज दिँदा हुन्थ्यो ।

अब भने १ प्रतिशत कम ब्याज दिँदै संस्थागत निक्षेप राख्नु पर्नेछ । हाल बैंकिङ क्षेत्रमा भएको कुल निक्षेपको ५९.९ प्रतिशत मुद्दति निक्षेप छ । बैंकिङ क्षेत्रमा भएको कुल मुद्दति निक्षेपमा संस्थागत निक्षेपको अंश बढी भएकाले आगामी दिनमा निक्षेपको लागत बढ्ने छ । जसले आधार दर घट्ने क्रम रोकिने छ । र, ब्याजदर थप नघट्ने भएको छ ।


क्लिकमान्डु