देशको अर्थव्यवस्था सीमित व्यक्तिहरुको हातमा गयोः सांसद भण्डारी



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिको कारणले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिहरुको हातमा गएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले देशको आर्थिक नीति गलत भएको बताए ।

गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थव्यवस्था नै केही सीमित व्यक्तिहरुको हातमा पुगेको उनले बताए । एकै व्यक्तिको हातमा बैंक, उद्योग, बीमा, अस्पताल, विद्यालय, जलस्रोतको लाइसेन्स लगायत सबै कुराहरु रहेको भन्दै उनले यसले अर्थतन्त्र सीमित व्यक्तिको कब्जामा पुगेको बताए ।

विकास निर्माणका कामहरु पनि लथालिङ्ग रहेको र काम नहुँदा कानुनी कारबाहीसम्म नहुने अवस्थामा रहेको भन्दै उनले अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको बताए ।

‘किन १०/१२ जनाको हातमा, उसैको हातमा बैंक छ । उसैको हातमा उद्योग छ । उसैको हातमा बीमा छ । उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल छ । उसैको हातमा स्कुल छ । उसैको हातमा जमिन खन्ने लाइसेन्स् छ । अब यो देश कसरी बन्छ ? एउटा सरकारले चाहेर, सरकारले गर्छु भनेर त्यहाँबाट कसरी निस्किन सक्छ ?’ उनले भने, ‘यो सबैभन्दा ठूलो महत्वपूर्ण कुरा रहेछ । हाम्रो आर्थिक नीतिको गलत कार्यक्रमले गर्दा, आर्थिक नीतिको गलत नीतिको कारणले गर्दा सीमित व्यक्तिको हातमा अर्थव्यवस्था गयो । सायद दुनियाँमा यस्तो कुनैपनि देशमा देखिएको छैन ।’

सांसद भण्डारीले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पारित गरिएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभाग समेटिएको चुच्चे नक्शा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन नसकेको बताए । उनले नेपालभित्र नेपाली खोज्नुपर्ने र चिन्नुपर्ने अवस्था आएको टिप्पणी गरे ।

उनले किसानको नाममा अनुदान अरुले नै खाने गरेको भन्दै तिनीहरुलाई के गर्ने भनेर प्रश्न समेत गरे । उनले नेपाली कपडामात्र लगाउने नीति बनाउन सके राज्यको अर्बौं रुपैयाँ बच्ने गरेको बताए ।


क्लिकमान्डु