बालकुमारी घटनाका दोषी र भ्रष्टाचार आरोपी मन्त्रीहरु झण्डा हल्लाउँदै हिँडिरहेको भन्दै संसदमा विपक्षीहरुको बिरोध



काठमाडौं । यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत लगायतको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसदमा बिरोध गरेका छन् ।

बालकुमारी घटनामा सरकारी अध्ययन समितिले मन्त्री ज्वालालाई दोषी करार गरे पनि सरकारले उनलाई पदबाट नहटाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले बिरोध गरेका हुन् ।

एमाले सांसद रघुजी पन्तले समितिले दोषी ठहर गरेको व्यक्ति अहिले पनि झण्डा हल्लाएर हिँडिरहेको र प्रधानमन्त्रीले कारबाही गर्न नसकेको आरोप लगाए ।

त्यस्तै स्वास्थ्य मन्त्री बस्नेत लगायतलाई पनि सरकारले कारबाही गर्नुपर्ने उनले बताए । पञ्चायत, बहुदलकालमा पनि नैतिकताको आरधारमा पदमा रहेकाहरुले राजीनामा गरेको नजिर पेस गर्दै उनले कारबाही गर्नुपर्ने बताए ।
‘भ्रष्टाचार आरोपमा अख्तियारमा बयान दिन जाँदा झण्डा हल्लाएर जाने मन्त्रीहरु माथि कारबाही गर्न नक्नु प्रधानमन्त्रीको निरीहता हो’ पन्तले भने ।

त्यस्तै रास्वपा सांसद विराजभक्त श्रेष्ठले समितिले दोषी करार गरेर पेस गरेको प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु भनेर संसदमा प्रधानमन्त्रीले ढाँटेको आरोप लगाए । ‘बालकुमारी घटनाको प्रतिवेदन पढ्न प्रधानमन्त्रीलाई कति दिन लाग्छ, हामीलाई दिनुस् हामी वाचन गर्छौं’ उनले भने ।

त्यस्तै राप्रपाका सांसद ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले प्रधानमन्त्रीले बालकुमारी घटनामा हत्या भएका भनेर भनेको भए पनि हत्याराहरुलाई कारबाही गर्न नसकेको भन्दै आपत्ति जनाए ।
उनले हत्या आरोपीहरु प्रधानमन्त्रीसँग कुम जोडेर सँगै चिया खाइरहेको भन्दै उनले प्रधानमन्त्री अदालतभन्दा ठूलो हो भन्दै प्रश्न गरे ।

‘बालकुमारी घटना हत्या हो भनेर प्रधानमन्त्रीले भन्नु भएको छ हत्याराहरुलाई कारबाही गर्नुपर्दैन?,’
शाहीले भने, ‘हत्या आरोपीहरु प्रधानमन्त्रीसँग कुम मिलाएर चियाँ खाइरहेका छन् के प्रधानमन्त्री अदालतभन्दा ठूला हुन् ?’

उनले देशमा प्रधानमन्त्री र मन्त्रीहरु भए पनि देशको अवस्था दिनानुदिन कमजोर बन्दै गएको भन्दै प्रधानमन्त्री र मन्त्रीहरु रहनुको कुनै औचित्य नभएको बताए । स्थायी सरकार मानिने कर्मचारी संयन्त्रलाई देश चलाउन दिए केही नबिग्रिने उनको भनाइ छ ।
‘प्रधानमन्त्री मन्त्रीहरु किन झन्डा हल्लाएर हिँड्नुपरो केही गर्न नसक्ने भएपछि’ उनले भने ।


क्लिकमान्डु