प्रसारण लाइन बनाउने वाइबा इन्फ्राटेकको आम्दानीमा उच्च वृद्धि, कर्जा पनि बढाएर ७ अर्ब पुर्याउँदै



काठमाडौं । ए क्लासको ठेकेदार कम्पनी वाईबा इन्फ्राटेक प्रालिको आम्दानीमा उच्च बृद्धि भएको छ ।

सन् २०२२ को तुलनामा कम्पनीको आम्दानी १८२ प्रतिशतको उछाल आएको हो । सन् २०२२ मा १ अर्ब ७२ करोड ५० लाख रुपैयाँको आम्दानी गरेको कम्पनीले सन् २०२३ मा ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँको आम्दानी गरेको छ ।

यसअघि पनि कम्पनीको आम्दानीमा हरेक वर्ष सकरात्मक बृद्धि भइरहेको थियो । सन् २०१९ मा कम्पनीले १ अर्ब ६ करोड ८० लाख रुपैयाँको आम्दानी गरेको थियो । त्यस्तै, सन् २०२० मा कम्पनीले १ अर्ब ४६ लाख ७० हजार रुपैयाँको आम्दानी गरेको थियो भने सन् २०२१ मा कम्पनीले १ अर्ब ६० करोड ७० लाख रुपैयाँको आम्दानी गरेको थियो ।

सन् २००४ मा सुरु भएको वाईबा इन्फ्राटेक प्रा लि सरकारले ए क्लासको वर्गिकरण गरेको ठेकेदार कम्पनी हो । मुख्य गरि पूर्वाधारको क्षेत्रमा पनि विद्युतीय प्रसारण लाइन र वितरण, सबस्टेसनको निर्माणजस्ता कामहरु गर्ने यो कम्पनी बढि मात्रामा सार्वजनिक क्षेत्रका ठेक्काहरुमा संलग्न रहेको छ । यो कम्पनीमा सबैभन्दा धेरै लाल बहादुर तामांग वाईवाको स्वामित्व रहेको छ, जुन ३५ प्रतिशत हो । त्यस्तै, उनीबाहेक अन्य सात जनाको पनि कम्पनीमा स्वामित्व रहेको छ ।

कम्पनीले आफ्नो कर्जा क्षमतालाई पनि बढाएर रेटिंग गरेको छ । यसअघि ३ अर्ब २८ करोड ८३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिंग गराएको कम्पनीले हाल त्यसलाई बढाउँदै ७ अर्ब २८ करोड रुपैयााका लागि रेटिंग गराएको छ । जसमा इक्रा नेपालले ६ करोडको दीर्घकालीन कर्जा सुविधाका लागि एलबिबि र ७ अर्ब २१ करोड ८३ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर प्लस रेटिंग दिएको छ ।


क्लिकमान्डु