श्रीमती र दुई छोरीको हत्यापछि ससुरालमा फोन गरेर राजुले गरे आत्महत्या !



काठमाडौं । काठमाडौंको स्वयम्भूमा ३ जना मृत भेटिएको केही समयपछि एक पुरुष झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

स्वयम्भूमा बुधबार बिहान एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका थिए । उक्त घटनाकै अनुसन्धानका क्रममा प्रहरीले एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला पारेको हो ।

प्रारम्भिक अनुसन्धानमा ती पुरुषले तीन जनाको हत्या गरी आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ ।

बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा एकै परिवारका तीन जना मृत फेला परेका थिए ।

राजधानीमा एकै परिवारका तीन जनाको शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको दुबै टोली खटिएको छ ।

ओखलढुंगा घर भई डेरामा बसिरहेका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानी मृत फेला परेका हुन् । उनीहरूमाथि घरेलु हतियार प्रहार भएको पाइएको थियो ।

ईश्वरीका ३७ वर्षीय श्रीमान राजुले घटना गरेपछि ससुरालीतर्फ फोन गरेको प्रहरीले जनाएको छ । ‘उनले मैले सबैलाई मारें, अब म पनि मर्छु भनेर भनेका रहेछन्’ प्रहरीको भनाइ छ ।

मर्न जाँदैछु भनेपछि राजुका ससुरालीले प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले उनको खोजी गरेको थियो । त्यसक्रममा नागार्जुन नगरपालिका-३ हरिसिद्धी जंगल (ह्वाइट गुम्बाको तल्लो) भेगमा एउटा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।


क्लिकमान्डु