केही व्यक्ति तथा समूहले बैंकका बारेमा फैलाएका तथ्यहिन सूचनाको पछि नलाग्न सिबिफिनको आग्रह



काठमाडौं । केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका बारेमा बुझ्नु बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति-समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने काम भएको भन्दै सिबिफिनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुको अक्षरशः पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम संचालन हुने, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमितरुपमा सुपरिवेक्षण तथा अनुगमन भइ विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानून बमोजिम आवश्यक कारवाही हुने व्यवस्था रहेको स्मरण गराएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै क्यापिटल एडुकेसी रेसियो, लिक्वडिटी रेसियो, सिडी रेसियो, क्यास रिजर्भ रेसियो लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुने व्यवस्था रहेको स्मरण गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुने जनाएको छ ।

पुस मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सवल रहेको जनाएको छ ।
सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको जनाएको छ ।

समग्र सरोकारवालाहरुको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्थाहरु पूर्णरुपमा प्रतिबद्ध र दृढ संकल्पित रहेको जनाएको छ ।


क्लिकमान्डु