सामाजिक सुरक्षा कोषमा साढे १० लाख आवद्ध



काठमाडौं । समाजिक सुरक्षा कोषमा हालसम्म १० लाख ५३ हजार ५ सय ६४ जना योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको अर्धवार्षिकी प्रतिवेदनअनुसार गत पुषसम्ममा यो संख्यामा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।

प्रतिवेदन अनुसार यसमध्ये औपचारिक क्षेत्रका ४ लाख ७२ हजार ४४५ जना, वैदेशिक रोजगारीमा जाने ५ लाख ८१ हजार ५ जना र अनौपचारिक र स्वरोजगार क्षेत्रका ११४ जना योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका हुन् ।

आगामी दिनमा कोषको दायरालाई थप फराकिलो र प्रभावकारी बनाउन लागिएको मन्त्री महतले बताएका छन् । उनका अनुसार सामाजिक सुरक्षा कोषमा ५ लाख औपचारिक क्षेत्रका श्रमिक आवद्ध गर्ने वार्षिक लक्ष्य तोकिएकोमा ४ लाख ७२ हजार ४५५ जनालाई आवद्ध गरिएको छ ।

उक्त कोषमा वैदेशिक रोजगारमा रहेका ४ लाख ९७ हजार जनालाई आवद्ध गर्ने वार्षिक लक्ष्य भएकोमा ५ लाख ८१ हजार श्रमिकलाई आवद्ध गरिएको छ ।

प्रतिवेदन अनुसार पछिल्लो समयमा अनिवार्य रुपमा कार्यान्वयनमा ल्याइएकोे सरकारी तथा निजी प्रतिष्ठानको श्रम अडिट अन्तर्गत समीक्षा अवधीमा १ हजार ६ सय ८१ प्रतिष्ठानको श्रम अडिट प्रतिवेदन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्राप्त गरेको छ । श्रम अडिट प्रतिष्ठान संख्या वार्षिक लक्ष्य ५ हजार सरकारले तोकेको छ ।

यसमध्ये १ हजार ५ सय ५७ वटा प्रतिष्ठानको कानूनसम्बन्धी पालनाको बिषयमा नियमन भएको मन्त्रालयले जनाएको छ ।
आन्तरिक रुपमा रोजगारीको अवसर सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गरी राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै उत्पादनसँग प्रत्यक्ष रुपमा जोडिने गरी रोजगार, उद्यमशीलता र श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारी तालिम प्रदायक संस्थाहरुलाई एकीकरण गरी राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

श्रम र श्रमिकको कदर हुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गरी कार्यान्वनमा ल्याइएको भन्दै प्रतिवेदनले पछिल्लो ६ महिनाको अवधीमा वैदेशिक रोजगार ठगिका उजुरीको मेलमिलाप तथा सिफारिश गर्ने सम्बन्धी कार्यविधि २०८० सहित नौंवटा गठन आदेश, मापदण्ड, कार्यविधि ल्याउनुका साथै संशोधन गरिएको मन्त्रालयले जनाएको छ ।

यो अवधीमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजार रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रहेकोमा ७ हजार ५ सय रोजगारीको अवसर सिर्जना भएको छ ।


क्लिकमान्डु