प्रचण्डमाथि ओलीको आरोप: प्रधानमन्त्री बन्नका लागि १७ हजार मानिस मर्नुपर्‍यो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले पछिल्ला गतिविधिहरु हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए ।

राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको ओलीको आरोप थियो । उनले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गरे ।
‘हामीले साह्रै जटिल अवस्था पार गरेर आयौँ । धेरै जटिल अवस्था । एउटा त, हिंसात्मक द्वन्द्व भयो । हिंसा भयो देशमा । हिंसा किन र केका लागि भयो ? त्यसको पुष्टि कसैले गर्न सकेको छैन’ ओलीले भने ।

उनले युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दुःखद् भएको बताए ।

‘राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा चाहिएको सत्ता रहेछ । जम्माजम्मी सत्ता । सरकार रहेछ, सांसद रहेछ । चाहिएको त प्रधानमन्त्री न रहेछ । अनि त्यत्तिका लागि यत्रो मान्छे मर्नुपर्ने ?’ओलीले भने ।

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून १८ वर्षसम्म नटुंगिनु बिडम्वना भएको बताए ।

ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरु सँगै सरकारमा रहेको बेलामा किन शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेको भन्दै प्रश्न गरे ।

‘टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरु सँगै सरकारमा छन्, मिलेका छन् त । लडाईं केका लागि दुई,दुई वर्ष प्रधानमन्त्रीका लागि नै रहेछ । हामी संक्रमणकालीन न्यायलाई सकेसम्म छिटो टुंग्याऔँ भनिरहेका छौं’ ओलीले भने ।


क्लिकमान्डु