एफपिओको प्रिमियम र मर्जर/प्राप्तिको आम्दानीबाट कर असूल्दा सरकारलाई राहत



काठमाडौं । एफपिओको प्रिमियम र मर्जर÷प्राप्तिको आम्दानीबाट कर असूल्दा सरकारलाई राहत भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा आयकरतर्फ १ खर्ब ३६ अर्ब १ करोड ४३ लाख सङ्कलन भएको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १६ अर्ब ७९ करोड ४ लाख आयकर संकलन भएको थियो । यो अवधिमा आयकर १६.४६ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

आयकरमा बढ्न केही समयअघि सरकारले बैंक तथा वित्तीय संस्थासँग १३ अर्ब ३९ करोड रुपैयाँ बढी मर्जर तथा बार्गेन पर्चेज गेनबाट उठाएको छ । जसले गर्दा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा आयकर १६.४६ प्रतिशत बढेको उल्लेख छ । सर्वोच्च अदालतको फैसला बमोजिम बैङ्क तथा वित्तीय संस्था लगायतका पाँच दर्जन कम्पनीले एफपिओको प्रिमियम र मर्जर÷प्राप्ति उठेकाले बढेको देखिएको हो । नत्र, आयकर ५ प्रतिशतले मात्रै बढ्ने थियो ।

अर्थ मन्त्रालयका अनुसार आयकर अन्तर्गत संस्थागत आयकरतर्फ ६९ अर्ब ४ करोड ४७ लाख, व्यक्तिगत आयकरतर्फ ४२ अर्ब ८ करोड ५७ लाख र लगानीको आयकरतर्फ २४ अर्ब ७२ करोड १२ लाख सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थागत आयकरतर्फ २७.५६, व्यक्तिगत आयकरतर्फ ५.६६ र लगानीको आयकरतर्फ ८.४१ प्रतिशतले बढी हो ।

संस्थागत आयकरतर्फ पब्लिक लिमिटेड कम्पनीको राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारी कम्पनी र अन्य कम्पनीको राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ । पब्लिक लिमिटेड कम्पनीतर्फ ६३.८५ प्रतिशत, सरकारी कम्पनीतर्फ १२.९७ प्रतिशत र अन्य कम्पनीतर्फ ४.१९ प्रतिशत रहेको छ । तर प्राइभेट लिमिटेड कम्पनीतर्फ भने ८.९७ प्रतिशतले घटेको छ ।

यो अवधिमा व्यक्तिगत आयकरतर्फको पुँजीगत लाभकरमा २७.०२ प्रतिशत, पारिश्रमिक करमा २.३७ प्रतिशत, प्रोप्राइटरसिपमा १.११ प्रतिशत र सामाजिक सुरक्षा करमा ०.४४ प्रतिशतले वृद्धि भएको छ ।
यो अवधिमा लगानीतर्फ पुँजीगतलाभ कर–निकाय, व्याजमा लाग्ने कर र आकस्मिक लाभमा क्रमशः ६९.३१, १२.४५ र ५.२२ प्रतिशतले वृद्धि भएको छ भने अन्य आयमा लाग्ने कर, सम्पत्ती, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर, लाभांशमा लाग्ने कर र लगानीको अन्य आयमा लाग्ने कर क्रमशः २२.०२, ९.२०, ३.३४ र ०.९४ प्रतिशतले घटेको छ । घर जग्गा व्यवसाय र सेयर कारोबारमा भएको बृद्धिले व्यक्तिगततर्फ र निकायतर्फको पुँजीगत लाभकर बृद्धि भएको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु