आर्थिक वृद्धि ३.१ प्रतिशत हुन्छ, पुँजीगत खर्च बढाउन सरकारको सकारात्मक प्रयास: आईएमएफ



काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत हुने जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आईएमएफ मिसन चिफ टिडिएन किन्डाले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत हुने बताए ।

आर्थिक वृद्धि बढाउन सरकारले पुँजीगत खर्चको गुणस्तरमा सुधार गर्दै पुँजीगत खर्च बढाउनु पर्ने किन्डाको भनाइ छ ।

‘सरकारले राजस्व बढाएर र सस्तो ब्याजदरमा सहुलियतपूर्ण कर्जा लिएर पुँजीगत खर्च बढाउनु पर्छ,’किन्डाले भने,’पुँजीगत खर्च बढाउने लामो प्रकृया हुन्छ । त्यसमा अहिलेको सरकारले सकारात्मक प्रयास गरिरहेको छ ।’

सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई संरचनात्मक सुधारको रुपमा अवसरका रुपमा प्रयोग गर्दै आर्थिक वृद्धिको बाटो खोल्नु पर्ने टिन्डाले बताए ।

पर्यटन क्षेत्रमा भएको सुधार, रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र लचिलो मौद्रिक नीति बनाउँदा समेत बैंक वित्तीय संस्थाको कर्जा लगानी बढ्न नसकेको किन्डाले बताए ।

‘कुल ग्रार्हस्थ उत्पादनको तुलनामा नेपालको कर्जा विस्तार उच्च थियो । बैंकहरुको निष्क्रिय कर्जा बढेको छ । तर पनि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएपछि चालु पुँजी प्रकृतिको कर्जा घट्नु र टर्म कर्जा बढ्नु सकारात्मक छ,’ किन्डाले भने,’ अहिले राष्ट्र बैंकले ऋणीलाई दिएको सुविधालाई हामीले ट्रान्जिसनको रुपमा हेरेका छौँ । आगामी दिनमा राष्ट्र बैंकले सम्पत्ति वर्गीकरण मापदण्ड र चालु पुँजी कर्जा सम्बन्धी पूर्णरुपमा कार्यान्वयन गर्नु पर्छ ।

कोषले सरकारले कर प्रणालीमा सुधार गरेर राजस्व बढाउनु पर्ने र राष्ट्र बैंकले तथ्यांकमा आधारित मौद्रिक नीति बनाउनु पर्नेमा जोड दिएको छ ।

कोषले सरकारीलाई नियमनको दायरामा ल्याउन सुझाव दिएको छ ।

अहिले आईएमएफको कर्मचारी तहको टोली औपचारिक मूल्यांकन गर्न भन्दा पनि सरकारले कसरी काम गरिरहेको छ भन्ने हेर्न आएको किन्डाको भनाइ छ ।

अहिलेको भ्रमणमा कोषले नेपालको माइक्रोइकोनमिको विषयमा छलफल गरेको र इसिएफका सर्तहरुको प्रगति विश्लेषण गरेको बताए ।

भम्रण टोलिमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त विभागको उपप्रमुख एनी-मेरी गुल्डे वुल्फ पनि छिन् ।

कोषको वासिङ्टनस्थित कार्यालयबाट नेपालसहित दक्षिण एसियाली देशमा हुने काम-कारबाही सूक्ष्म रुपमा हेर्ने वुल्फ नेपाल सरकारले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा आर्थिक तथा वित्तिय क्षेत्रमा सुधार गर्ने गरी जनाएका प्रतिवद्धताको अवस्थाका विषयमा जानकारी लिन नेपाल भ्रमणमा आएकी हुन् ।

ईसीएफको चौथो किस्ता निकासा गर्नु अघि कोषका तर्फबाट आगामी मे मा हुने विस्तृत मूल्यांकन पूर्व कोषको उच्चस्तरीय भ्रमण भएको हो ।


क्लिकमान्डु