शाखा कार्यालयहरु बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएको छैन: एनआईसी एशिया बैंक



काठमाडौं । एनआईसी एशिया बैंकले शाखा कार्यालयहरू बन्द गर्न नलागेको स्पष्ट पारेको छ ।

आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको बैंकले जनाएको छ । एनआईसीले ५० वटा शाखा बन्द गर्न नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भन्दै समाचारहरु सार्वजनिक भएपछि बैंकले त्यस्ता समाचारहरुमा सत्यता नभएको बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।

धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहकमा बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकको दाबी छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु