प्रभु बैंकको रुकुम पश्चिम शाखाका अप्रेसन इन्चार्ज बेपत्ता, करोडभन्दा बढी अपचलनको आशंका

अनुसन्धानका लागि सुर्खेतबाट बैंकको टोली आठबिसकोट पुग्यो



काठमाडौं । प्रभु बैंकको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिकाको राडी बजार शाखाका अप्रेसन इन्चार्ज नीरजविक्रम शाहले बचतकर्ताको रकम हिनामिना गरेर बेपत्ता भएका छन् ।

शाह एक सातादेखि बेपत्ता रहेको शाखाले जनाएको छ ।

आफूहरुको बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएपछि बचतकर्ताहरू दैनिक बैंकको शाखा कार्यालयमा उपस्थित हुने गरेका छन् ।

शाखाका अनुसार भूकम्पपीडित तथा सामाजिक सुरक्षा कोषको रकम शाहले हिनामिना गरेको आशंका छ ।शाह सम्पर्कविहीन भएपछि बैंकले अनुसन्धान थालेको जनाएको छ ।

‘सुर्खेतबाट बैंकका तीनजना कर्मचारी अनुसन्धानका लागि रुकुम पुगेका छन्,’प्रभु बैंकका कार्यकारी प्रमुख अशोक शेरचनले क्लिकमान्डुसँग भने, ‘बचतकर्ताको रकम सुरक्षित छ । अनुसन्धानपछि थप कुराहरु थाहा होला ।’

बैंकको राडी बजार शाखा प्रमुख डम्बर गौतम बिदामा रहेको बेलामा शाह सम्पर्कविहीन भएका हुन् ।

एक दिनका लागि बिदा मागेका शाह एक सातादेखि वेपत्ता भएका हुन् । शाहले व्यक्तिगत कारोबार गरेको आशंका गरिएको छ।

राडी बजारमा रहेको प्रभु बैंकको उक्त शाखा मर्ज हुनुअघि सेन्चुरी बैंकको शाखा कार्यालय थियो । प्रभुमा सेन्चुरी मर्ज भएपछि उक्त शाखा प्रभुको शाखाको रुपमा सञ्चालनमा रहेको छ ।

रुकुम पश्चिम प्रहरीका अनुसार १ करोडभन्दा बढी अपचलन भएको आशंका छ ।


क्लिकमान्डु