६ महिना बितिसक्दासमेत बजेटका १२ बुँदामा प्रगति शून्य



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा निजी क्षेत्रसँग सम्बन्धित १६ प्रतिशत कामका १२ वटा बुँदामा शून्य प्रतिशतकाे प्रगति देखिएको छ । चालु आवको बजेटमा रहेको ७३ वटा बुँदा निजी क्षेत्रसँग सम्बन्धित छन । साेही बुँदामाथि आधारित भएर नेपाल उद्योग परिसंघले बजेटका बुँदाकाे कार्यान्वय अवस्था विश्लेषण गरेकाे छ ।

जसमा चालु आवको ६ महिना बितिसक्दा समेत सरकारले प्राथमिकताका साथ अगाडि बढाउन नसक्दा अझै १२ बुँदा अर्थात १६ प्रतिशतमा कार्यान्वयनमा शून्य रहेको छ ।

सीएनआईले आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा शुक्रबार राजधानीमा आयोजना गरेको आर्थिक बर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गर्दै अहिलेसम्मको बजेटको कार्यान्वयन अवस्था चित्रण गरेको हाे । जस अनुसार ६ महिनासम्म पनि १२ बुँदामा कुनै कामै सुरु नै नभएको उल्लेख छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा ५४ वटा बुँदा अर्थात ७४ प्रतिशतका काम भने आंशिक कार्यान्वयन भएको उल्लेख छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित ७ बुँदा अर्थात १६ प्रतिशत पूर्ण कार्यान्वयनमा अझै गएको छैन ।

गत आर्थिक वर्ष २०७९/८० काे तुलनामा याे आवमा भने बजेट कार्यान्वयनमा केही प्रगति भएको देखिएको छ । गत वर्ष निजी क्षेत्रसँग सम्बन्धित रहेका विभिन्न ६२ बुँदामध्ये यही अवधिसम्ममा ११ बुँदा (१७.७ प्रतिशत) पूर्ण कार्यन्वयन, २९ बुँदा (४६.८ प्रतिशत) आंशिक कार्यान्वयनमा र २२ बुँदा (३५.५ प्रतिशत) शून्य प्रगतिमा रहेको थियो ।


क्लिकमान्डु