साढे ४ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा परेका अधिकृत भट्टराईको बयान: ११ ठाउँमा जग्गा किनेँ



काठमाडौं । ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा अहिले मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत मीनबहादुर भट्टराईले आफूले विभिन्न स्थानमा गरेर ११ वटा जग्गा किनेको बयान दिएका छन् ।

भट्टराईको अहिले कोटेश्वरमा १३ आना, लुभुमा ४ आना जग्गा लगायत देशका विभिन्न स्थानमा जग्गा रहेको छ ।

२०५४ साउन २६ गते जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा नासुमा नियुक्त भएका भट्टराईले भ्रष्टाचार गरी ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारको ठहर छ ।

उक्त अवधिमा उनले ५ करोड ९४ लाख ६७ हजार १४८ रुपैयाँ वैध अम्दानीबाट कमाएको देखिएको तर उनको मौजाद र खर्च विवरणको हिसाब गर्दा १० करोड २३ लाख ९२ हजार २८८ रुपैयाँ देखिएकाले उनले भ्रष्टाचार गरेर कमाएको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तो छ भट्टराईले अनुसन्धान अधिकृतलाई दिएको बयान

म मिति २०५४ साउन २६ गते जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा ना.सु. पदमा नियुक्ति पाएको हुँ। म तथा मेरो परिवार बिच मिति २०६७ चैत २८ मा मालपोत कार्यालय डिल्लीबजारबाट अंश बापत रु.२६ लाख र साढे दुई रोपनी जग्गा लिएको हो भने भाइसँग मिति २०७४ साल फागुनमा मानो छुट्टिएको हो। मैले विभिन्न कार्यालयमा बस्दा पाएको दैनिक भ्रमण भत्ता, पोसाक भत्ता, प्रशिक्षण भत्ता, बैठक भत्ता र अन्य भत्ता प्राप्त गरेको छु। मेरो पहिलो विवाह आ.व. २०५७ /५८ मा भएको हो र उक्त विवाह सफल हुन सकेन ।

त्यसपछि २०७३ सालमा दोस्रो विवाह भएको थियो। मेरो श्रीमती झुना कुमारी कठेतको नाममा निजको बुवाले जिल्ला उदयपुर तपेश्वरी भागलपुरमा ०-३-०-० क्षेत्रफलको जग्गा बकस गरी दिनु भएको छ, सो को कागजात मैले यस अघि नै पेस गरेको छु । मेरो दुई छोरी र एक छोरा छन्। मेरो तथा मेरो श्रीमतीको नाममा भएका जग्गाहरू तथा घरको विवरण यस अघि पेस गरेकै सम्पत्ति विवरणमा भएका विवरणहरू हुन् । हालसम्म मैले ११ ओटा ठाउँको जग्गा किनेको छु भने ९ ठाउँको जग्गा विक्री गरेको छु। सरकारी सेवामा प्रवेश गर्नु अघि पैतृक सम्पत्ति नै थियो त्यस पश्चात् कर्मचारी सञ्चय कोषको घर सापटी/ विशेष सापटी तथा मेरो पारिश्रमिकबाट कोटेश्वरमा २०७८ सालमा १ तले घर खरिद गरेको हुँ।

त्यसपछि कर्मचारी सञ्चय कोषको ऋण कम भएकोले उक्त घर सानिमा बैंकमा राखी ६० लाख ऋण लिई केही पैसा बचेकोले दमक झापामा विभिन्न कि.नं. का ०-४-०-३ धुर जग्गा खरिद गरेको थिएँ। बैंक अफ काठमाडौँ र स्ट्यार्डड चार्टड बैंकको शेयर समेत खरिद गरेको हुँ। पछि आएर तिनै सम्पत्ति बिक्री गरि हाल का.म.न.पा. १० हाल घर (कोटेश्वर) मा ०-१३-०-० जग्गा, लुभुमा ०-४-०-३ जग्गा रहेको। श्रीमतीको नाममा बुवाले पैतृक सम्पत्तिबाट बकस गरिदिएको उदयपुर तपेश्वरी ३ भागलपुर मा ०-३-०-० जग्गा रहेको छ। खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी न.पा. ४ मा ३ रोपनी (अन्दाजी) पैतृक जग्गा रहेको छ। मेरो विभिन्न बैंकमा खाता रहेको छ। आ.व. २०६९/०७० घरमा तला थप गर्दा रु.२४,००,००० खर्च भएको थियो। आ.व. २०७६/०२/१० मा खरिद गरेको एक तले घरमा तला थप गरेको हुँ। मैले उक्त घर जग्गा मैले २०७८/०५/०९ मा ३ करोड ९० लाखमा बेचेको छु।

मेरो परिवारको नाममा कहीँ कतै घर नभएको ब्यहोरा व्यक्त गर्दछु। विवरणमा मागदाबी भए बमोजिम घर बहाल कर लगाउँदा सम्बन्धित निकायमा कर तिरेको छु। का.म.न.पा. वडा नं. ३२ तथा करदाता सेवा कार्यालय कोटेश्वरमा नियमानुसार कर तिरेको कागजात सम्मानित आयोगमा मिसिल संलग्न छ। मैले निजामती सेवामा प्रवेश गरेपछि प्राप्त गरेको तलब भत्ता, चाडपर्व भत्ता, हुलाक कार्यालयमा कार्यरत रहँदा प्रत्येक वर्ष महिनाको तलब बराबरको रकम, यातायात कार्यालय लहानमा प्राप्त गरेको अतिरिक्त भत्ता, कृषि आय, घरभाडा आय, श्रीमतीको विवाहमा प्राप्त टिकाटाला, पिताबाट प्राप्त गरेको नगद, रेमिट्यान्स, बैंक निक्षेप बापत प्राप्त व्याज कर्मचारी सञ्चयकोष, ना.ल. कोष, सानिमा बैंक, गुडवील फाइनान्स, समेतका वित्तीय संस्थाको ऋण, हस्त बहादुर राई र पूर्ण राई लगायत विभिन्न व्यक्तिबाट लिएको कर्जा, घर तथा जग्गा बिक्रीबाट प्राप्त आय शेयर बिक्री, मो.सा. बिक्री आम्दानीका श्रोत हुन आ.व. अनुसारको विवरण सम्मानित आयोगमा पेस गरेको छु ।

मैले मेरो परिवारको नामामा अध्ययन बाहेक कुनै प्रकारको खर्च र लगानी गरेको छैन। विभिन्न व्यक्तिसँग लिएको ऋण मिसिल संलग्न फाइलमा मिति समेत उल्लेख गरी सम्मानित आयोगमा पेस गरेको छु। हस्त बहादुर राईसँग लिएको रु.३५ लाख रुपैयाँ सम्मानित जिल्ला अदालत सुनसरी इनरुवामा लेनदेन मुद्दा चली २०७९/०४/१७ मा हस्त बहादुर राईको दाबी पुग्ने फैसला समेत भई सकेको छ। त्यसैगरी पूर्ण राईसँग जेठी श्रीमतीलाई अंश दिँदा रु. ७० लाख लिएको रुपैयाँ पनि लेनदेन मुद्दा चली मिति २०७९/०४/१३ को फैसलाले पूर्ण राईको दाबी पुग्ने फैसला भएको ब्यहोरा उल्लेख गर्दछु। साथै अन्य वित्तीय संस्था, साथी भाइसँग लिएको ऋण मिसिल संलग्न फाइलमा समावेश गरेको छु।

विवाह र पैतृक बाहेक कुनै प्रकारको सुनचाँदी खरिद गरेको छैन। मेरो नाममा एउटा स्कुटर छ। उक्त स्कुटर २ लाख ९० हजारमा खरिद गरेको हुँ। प्राय सबै प्राइमरी शेयर खरिद मात्र खरिद गरेको छु। उक्त शेयर खरिद विक्रीको विवरण सम्मानित आयोगमा पेस गरेको छु। मेरो र मेरो घर परिवारको नाममा बीमा गरेका छौँ । उक्त बीमा हामीले आईएमई लाइफ ईन्स्योरेन्स कम्पनीमा गरेका छौँ। बीमाको नाम जिवन बीमा रकम मिति मिसिल संलग्न फाइलमा सम्मानित आयोगमा पेस गरेको छु ।

वासिङ मेशिन १ थान र २४ इन्चको टि.भी बाहेक अन्य इलेक्ट्रिक सामाग्रीहरू खरिद गरेको छैन। जगदीश देवकोटा लहानमा विद्युत् सम्बन्धी काम गर्ने व्यक्ति हुन उनी विश्वासिला भएकोले मेरो पारिश्रमिक यातायात कार्यालय लहानमा प्राप्त गरेको, अतिरिक्त भत्ता कृषि आय, घरभाडा आय, जग्गा बिक्रीबाट प्राप्त रकम तथा विभिन्न व्यक्तिबाट घर व्यवहारमा प्रयोग गर्ने तथा कारोबार गर्न मैले बैंकमा रकम जम्मा गर्न पठाउने व्यक्ति थिए। उनी आर्थिक अनुशासन भएकाले मैले विश्वास गरेको हो। हाल कहाँ के गर्छन् हाल मलाई जानकारी छैन ।


क्लिकमान्डु