घरेलु मदिरालाई ब्रान्डिङ गर्ने सरकारको तयारी, अर्थ र कानुन मन्त्रीसँग उद्योग मन्त्रीको छलफल



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रबर्द्धन गरिने बताएका छन्।

बिहीबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले ठूला उद्योगी हाबी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रबर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालले स्पष्ट परे । घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्रि प्रबर्द्धनको व्यवस्था मिलाइने उनको भनाइ छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री ब्राण्डिङका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको छ । सोहि अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रबर्दन सम्बन्धि रोड म्याप समेत प्रस्तुत गरिएको थियो ।

छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङको समेत उपस्थिति रहेको थियो । छलफलमा बोल्दै अर्थमन्त्रि महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा बिशेष ध्यान पुर्याउनु पर्ने बताए । त्यसैगरी कानुनमन्त्री गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रबर्दनका लागि स्पष्ट कानुन प्रति संबेदनशील हुनु पर्ने बताए ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थिति रहेको थियो । त्यस्तै, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, वाणिज्य तथा आपूर्ती सचिव नारायणप्रसाद दुवाडी तथा प्रदेशका मूख्य सचिवहरुको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु