कस्तो छ देशको वर्तमान आर्थिक अवस्था ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाको तथ्यांकमा आधारित वित्तीय स्थिति अनुसार ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

लु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ३३ अर्ब २२ करोड भित्रिएको हो ।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भइ ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ ।

विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार

देशमा विदेशी मुद्रा (डलर) सञ्चितिमा उल्लेख्य सुधार आएको छ । घट्दो आयातका कारण विदेशी मुद्राको सञ्चिति बढेको हो । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कुल विदेशी बिनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा बिदेशी बिनिमय सञ्चिति असार मशान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ । उक्त विदेशी मुद्रा सञ्चितीले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । यो ६ महिनाको अवधिमा आयात ३.१ प्रतिशतले घटेको छ ।

अत्याधिक आयातका कारण विदेशी मुद्रा सञ्चितिले २०७८ सालमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था भएपछि आयातलाई निरुत्साहित गर्ने तथा केही वस्तुको आयात नै बन्द गर्ने नीति लिएको थियो । गत वर्षबाट यी सबै नीति हटेपनि बजारमा माग नभएका कारण आयात बढ्न सकेको छैन । अर्थतन्त्रमा देखिएको संकुचनका कारण माग बढ्न नसक्दा आयात घटेर विदेशी मुद्रा सञ्चिति बढेको हो ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी बिनिमय सञ्चिति १८ प्रतिशतले बृद्धि भइ पुस मशान्तसम्मा १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० पुस मसान्तमा ११.८ प्रतिशतले वृद्घि भई २१६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ ।

२०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

महँगीको वृद्धिदर घट्यो

नेपाल राष्ट्र बैंकका अनुसार महँगीको वृद्धिदर घटेको छ । २०७९ पुसको तुलना २०८० पुसमा महंगीको वृद्धि दर घटेको हो । गत वर्षको पुसमा ७.२६ प्रतिशत रहेको महंगी दर चालु आर्थिक वर्षको पुसमा ५.२६ प्रतिशतमा सीमित रहेको हो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको महँगीदर ५.७७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको महँगीदर ४.८५ प्रतिशत रहेको हो ।

यस्तै खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.६० प्रतिशतमा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै खाद्य तथा खाद्यजन्य पदार्थमा ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलफूलको १०.१५ प्रतिशतले बार्षिक बिन्दुगत मूल्य सूचकांक बढेको हो ।

राष्ट्र बैंककाअनुसार गैर खाद्य तथा सेवा समुह अन्र्तगत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको हो ।


क्लिकमान्डु