बाँसबारी जग्गा प्रकरण: चौधरीलाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहितका तीन जनालाई हिरासतमा म्याद थपको अनुमति दिएको छ ।

व्यवसायी चौधरीसहित ३ जनामाथि जारी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले सोमबार थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले चौधरीसहितलाई थप तीनदिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चौधरी, बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदबागका सञ्चालक सन्जय ठाकुरविरुद्ध थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थपका लागि सोमबार अदालतमा पेस गरिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तीन जनालाई माघ १८ गते पक्राउ गरेको थियो । उनीहरुमाथिको अनुसन्धानका लागि अदालतले ४ दिनको म्याद दिएको थियो । ४ दिनको म्याद आइतबार सकिएपछि सीआईबीले दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराएको थियो ।

पक्राउ परेका चौधरी र थापाको स्वास्थ्यमा समस्या देखिएपछि पक्राउ परेकै दिन चिरायु अस्पताल लगिएको थियो । चिरायुबाट रेफर भएका उनीहरुलाई अहिले टोखास्थित ग्राण्डी अस्पतालमा राखिएको छ । ठाकुर भने सीआईबीकै हिरासतमा छन् । उनीमाथि ठगी र किर्तेमा मुद्दा चलाउने सीआईबीको तयारी छ ।


क्लिकमान्डु