निर्यात गर्नका लागि नेपाली उत्पादनहरु मौलिक हुनुपर्छः अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो बार्षिकोत्सव समारोहमा उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।

अर्थमन्त्री डा महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भने ‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ ।’

मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालले उठान गरेका सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्दै सरकारले चाहदा चाहदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसिएको र निकट भबिष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी उनले भारतसँगको व्यापार सम्झौंताबाट फाईदा लिन छाडेर साफ्टाको बिषय उठाउन आवश्यक नरहेको प्रष्ट पारे । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउनुहुँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने समेत उल्लेख गरे । डा महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु