उद्योगी, व्यवसायी र बैंकको मनोबल उच्च भए मात्रै आर्थिक विकासमा सकारात्मक प्रभाव पर्छः मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले उद्योगी, व्यवसायी र बैंकको मनोबल उच्च भएमा मात्र देशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

नेपाल बैंकर्स संघले आयोजना गरेको मौद्रिक नीति २०८०/८१ को दोस्रो त्रैमासिक समीक्षाका लागि हेजिङ सुविधा र सुझाव विषयक कार्यक्रममा यस्तो बताएका हुन् । अहिले राष्ट्र बैंकले सोही अनुसारको नीति निर्देशन बताइरहेको मिश्रले बताए ।

मिश्रले अहिले पनि बैंकहरुले कुनै न कुनै रुपमा हेजिङ्गको सुविधा उपभोग गर्दै आएको र बैंकले आफ्नो क्षमता तथा प्राविधिक दक्षताको आधारमा त्यसको उपयोग गर्न सकिने बताए ।

कार्यक्रममा संघका अध्यक्ष सुनिल केसीले नेपालको आर्थिक विकासको लक्ष्य, अन्तराष्ट्रिय जगतमा गरिएको प्रतिबद्धता परिपूर्तिको लागि ठुलो लगानी खाँचो पर्ने बताए ।

उनले अहिलेको परिस्थितिमा बाह्य लगानीलाई देशमा कसरी भित्राउन सकिन्छ भन्ने विषय महत्वपुर्ण रहेको बताए ।
नेपालले लिएको दिगो विकासको लक्ष्य परिपूर्तिको लागी पनि नेपालमा ठुलो स्रोत चाहिने र देश भित्रका बैंक तथा वित्तीय संस्थाले मात्र त्यसको परिपूर्ति गर्न नसक्ने परिस्तिथिमा बैदेशिक लगानी अपरिहार्य रहेको बताए । सरकारले यसको सहजताको लागि थप पहल गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा पूर्व सचिव शिशिर कुमार ढुङ्गानाले सरकारले आर्थिक वर्ष २०७५/७६ को वजेट वक्तव्य मार्फत विदेशी लगानीकर्ताहरुलाई हेजिङ्ग सुविधा प्रदान गर्ने नीति घोषणा गरेको भएपनि हालसम्म हेजिङ्ग नियमावली, २०७९ पूर्ण रुपमा कार्यान्वयन हुन नसेको बताए ।

त्यसलाई कसरी प्रभावकारी बनाउन बिभिन्न निकायले कस्तो भूमिका खेल्न सक्छन भन्ने बिषय तथा हेजिङ्गसंग सम्बन्धित नीति कार्यान्वयनका लागि भएका प्रयासका बारेमा जानकारी गराए ।

उनले मौद्रिक नीति २०८०/८१ को अर्धवार्षिक समीक्षा आउन लागेको सन्दर्भमा केहि नीतिगत व्यवस्थामा सुझाव समेत दिए ।
कार्यक्रममा अर्थ मन्त्रालयका सह-सचिव महेश आचार्यले हेजिङ्गको विषयमा सरकार गम्भीर रहेको र आपसी समझदारी र सहकार्यबाट यसलाई प्रभावकारी बनाउन तयार रहेको बताए ।

कार्यक्रममा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिमा भएका केही नीतिगत व्यवस्था र हेजिङ्ग जस्तो महत्वपूर्ण बिषयमा सम्बन्धित सबै सरोकारवालाहरु एकै ठाउँमा छलफल हुनु महत्वपुर्ण उपलब्धी भएको बताए ।


क्लिकमान्डु