स्वार्थ समूहको चंगुलमा पर्यटनमन्त्री किराँती, निगममाथि अध्ययन गर्न १०औं समिति !



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती स्वार्थ समूहको चंगुलमा फसेर निर्णय गर्न थालेको आरोप लाग्न थालेको छ । मन्त्री भएको एक वर्षसम्म नेपाल वायुसेवा निगमको सुधारमा कुनै पनि दीर्घकालीन निर्णय गर्न नसकेका उनले निगममाथि अध्ययन गर्न तीन वटा समिति भने बनाउन भ्याएका छन् ।

उनले केहि समूहको स्वार्थमा राष्ट्रिय ध्वजाबाहक निगममाथि फेरि अर्को अध्ययन समिति गठन गराउन लागेको आरोप छ ।
मन्त्री किराँतीले ‘वायुसेवा निगमको व्यवस्थापकीय तथा संरचनात्मक सुधार सुझाव कार्यदल’ निर्माण गर्न लागेको आरोप लागेको हो । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा नयाँ समिति गठनको आवश्यक तयारी उनले गराएको मन्त्रायल स्रोतले जनायो । स्रोतका अनुसार मन्त्रीस्तरीय निर्णय गराएर उक्त समितिलाई मन्त्रिपरिषद् लैजाने तयारी छ ।

निगमको अध्ययन गर्न औपचारिक रूपमै गठन भएको यो १० औं समिति हुनेछ । मन्त्री किराँतीले क्षेत्रीको अध्यक्षतामा टीकाराम राई, पर्यटन मन्त्रालयका प्रतिनिधि तथा निगम सञ्चालक समिति सदस्य चक्रबहादुर बुढा, अर्थ मन्त्रालयका प्रतिनिधिसहितको समिति गठन गर्ने टिप्पणी उठाउन मन्त्रालयका कर्मचारीलाई आदेश दिइसकेका छन् ।

मन्त्री किराँतीका निकट टीकाराम राई यस अघि पनि दीपेन्द्रबहादुर क्षेत्रीकै संयोजकत्वको ‘नेपाल वायुसेवा निगमको संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ का सदस्य थिए ।

क्षेत्री संयोजकत्वको समितिले असोज दोस्रो साता प्रतिवेदन बुझाएसँगै मन्त्रीले किराँतीले फेरि कात्तिक तेस्रो साता ‘निगमको संरचनागत र व्यवस्थापकीय सुधार समितिको प्रतिवेदन कार्यान्वयन सुझाव समिति’ गठन गरेका थिए ।

निगमका पूर्वमहाप्रबन्धक क्याप्टेन कुलबहादुर लिम्बू संयोजकको उक्त समितिले हाल काम गरिरहेको छ । ६ महिनाको समयसीमा दिएर काम गरीरहेको यो समितिमा राई सदस्य भएर काम गरिरहेका छन । तर, उक्त समितिको समयावधि नसकिँदै सोही समिति सदस्यलाई राखेर मन्त्री किराँतीले फेरि नयाँ समिति बनाउनुमा स्वार्थ र शंका दुबै मिसिएको देखिन्छ ।

मन्त्री किराँतीले काम गर्न चाहेको भए भएकै समिति, वायुसेवा निगमको योजना र रणनीतिमा निर्णय गर्न सक्थे, यहाँ त काम नगर्ने र स्वार्थ समूहको चंगुलमा परेकै कारण पटक पटक निगममाथि अध्ययन मात्रै हुने तर काम नहुने देखिएको निगमकै एक उच्च अधिकारीको भनाइ छ ।

वायुसेवा निगमका पूर्व महाप्रवन्धक डिमप्रकाश पौडेलको बुझाइमा पनि मन्त्री किराँती स्वार्थ समूहको चंगुलमा फसेर निर्णय गर्न थालेको हुनसक्छ । निगममाथि समिति नै समिति थोपरेर र सिमिति व्यक्तिलाई रिझाउन मात्रै काम भइरहेको उनको आशंका छ।

उनका अनुसार निगमभित्रको विकृति विसङ्गतीमा गतिलो निर्णय गरेर आइस ब्रेक गर्नुपर्छ । त्यसको लागी वास्तवमै आँट गर्ने व्यक्ति चाहिन्छ, उनी भन्छन्, यस अघि आफूले आँट गरेर निगमलाई निजीकरण गर्ने निर्णय गरेकै कारण स्वार्थ समूहले टिक्न दिएनन् ।

अहिले पनि १० थरी अध्ययन र प्रतिवेदन नै नचाहिने, भएकै व्यवस्थामा निर्णय गरेर निगमको सुधार गर्न सकिने बुझाई पनि पौडेलको छ ।

पर्यटन मन्त्रालयले भने चालू आर्थिक वर्ष २०८०/८१ को बजेटले गरेको व्यवस्थामाथि टेकेर काम गर्न लागेको दाबी गरेको छ । पर्यटन मन्त्रालयका सहसचिव तथा हवाई उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेका अनुसार बजेटकै व्यवस्था कार्यान्वयन गर्न मन्त्रालयले नयाँ समिति सिफारिस गरेको हो । बजेटको १९६ नम्बर बुँदामा ‘नेपाल वायुसेवा निगमको पुनरर्संरचना गरी व्यवस्थापकीय सुधारका कार्य अघि बढाइने’ उल्लेख छ ।

लामिछानेका अनुसार मन्त्रीको आदेश अनुसार टिप्पणीसम्म उठेको छ । यसलाई मन्त्रिपरिषदबाटै निर्णय गराएर अगाडि बढ्ने भनिएको छ । कसरी अगाडि बढ्ने र समिति गठनको आवश्यकतासहितका विषयमा प्रस्ताव बनाउन लगाउने र निर्णय गर्ने अधिकारीलाई मात्रै थाहा हुने भन्दै लामिछाने पन्छिए ।


राजु बास्कोटा