४० अर्ब लगानीमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने, निर्माण अवधि ५ वर्ष



काठमाडौं । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर ४ तथा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ र ४ मा ४० अर्ब लगानीमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने भएको छ ।

आयोजनाबाट १८० मेगावाट विद्युत उत्पादन गर्ने गरी पूरक वातावरणीय प्रभाव मूल्यांकन तयार गरिसकेको छ ।

प्रतिवेदनअनुसार आयोजनाको लागत ३९ अर्ब ७४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनाको दैनिक पिकिङ समय ४ देखि ६ घण्टा हुनेछ । आयोजनाको ड्यामको लम्बाई ८२ मिटर र ड्यामको उचाई ४०.५ मिटर रहेको छ ।

त्यस्तै, आयोजनामा ५ मिटर टनेलको व्यास हुनेछ भने ५ हजार ३६३.९१ मिटर टनेलको लम्बाइ हुनेछ । प्रतिवेदनमा आयोजनाको सर्ज ट्याङ्कको उचाइ ५०.३५ मिटर र सर्ज ट्याङ्क व्यास १२ मिटर हुने उल्लेख छ ।

आयोजनामा ४ वटा टर्बाइन हुनेछन् । त्यस्तै, आयोजनाबाट वार्षिक १०३६.२१ गिगावाट बिजुली उत्पादन हुने जनाइएको छ । आयोजनाको स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनअनुसार ८३१.०६ गिगावाट बिजुली उत्पादन हुने उल्लेख थियो ।

आयोजना ५ वर्षमा निर्माण सम्पन्न हुने जनाइएको छ । आयोजनाले विकास कार्यक्रम सहयोग कार्यक्रममा २९ करोड ८० लाख ५० हजार रुपैयाँ खर्च गर्नेछ ।


क्लिकमान्डु