बालबालिकालाई कटन क्यान्डी दिदैं हुनुहुन्छ, २ लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ



काठमाडौं । बालबालिकालाई भुलाउन अखाद्य कटन क्याण्डी दिदैं हुनुहुन्छ भने अब सचेत हुने वेला आएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणपछि गुलावी रंगको कटन क्याण्डीलाई अखाद्य मानेको छ । सोहि परीक्षणको आधारमा काठमाडौं महानगरपालिकाले उक्त कटन क्याण्डीको उत्पादन, बिक्री बितरण र प्रयोगमा बन्धेज लगाएको छ ।

महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरी ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गराउने सूचना जारी गरेको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गर्र्दै कटन क्याण्डी उपभोग नगर्न आग्रह गरेकी छन् ।


बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) महानगरपालिकाको वडा नं. ७ चावहिल चोकबाट नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले पुस २९ गते राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो ।

यसरी पठाइएको नमूनामा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको प्रतिवेदन प्राप्त भएपछि उपप्रमुख डंगोलले बजार अनुगमन टोलीलाई यस्ता बस्तु बेचिने ठाउँहरुमा तत्काल अनुगमन गर्न निर्देशन दिँदै अभिभावकहरुलाई खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छन् ।


क्लिकमान्डु