लक्ष्यअनुसार राजस्व नउठ्दा सरकार दबाबमा छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए ।

राजस्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको बताउँदै उनले राजस्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए ।

‘अहिले हामी राजस्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजस्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजस्व संरचनामा परिवर्तन आइरहेको छ’ उनले भने।

व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने उनले बताए ।

आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनले बताए ।

विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजस्व कम उठेको उनको भनाइ छ ।

इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजस्व उठेको दाबी गरे ।

मन्त्री महतले अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताए ।


क्लिकमान्डु