बजारमा माग नहुँदा मोबाइल फोनको आयात २१.४८ प्रतिशतले घट्यो



काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या कारण बजार माग घट्दा स्मार्ट मोबाइल फोनको आयात २१.४८ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गत वर्षको तुलनामा २१.४८ प्रतिशतले घटेको हो।

चालु आर्थिक वर्षको पुससम्ममा १५ अर्ब ७३ करोड ३८ लाख रुपैयाँको १८ लाख २१ हजार ८२१ थान स्मार्ट मोबाइलफोन आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले १४ अर्ब ३५ करोड ३३ लाख रुपैयाँको २३ लाख २० हजार २७० थान स्मार्ट मोबाइलफोन आयात भएको छ ।

कोभिड तथा विभिन्न देशबीच द्वन्द्वका कारण अर्थतन्त्रमा समस्या देखिएसँगै मानिसहरुको सामग्री खरिदमा क्रयशक्ति घट्दै गएको छ । बजारमा स्मार्ट मोबाइल फोनको माग नहुँदा व्यापार खस्किएको छ । व्यवसायीहरु विगतको वर्षहरुको तुलनामा यो वर्ष मोबाइल फोनको मागमा कमी आएको बताउँछन् ।

लामो समयसम्म अर्थतन्त्रमा देखिएको समस्याका कारण स्मार्ट मोबाइलनको व्यापारमा सुधार आउन सकेको छैन । जसले गर्दा व्यवसायीहरु निकै चिन्तित छन् । विगतको वर्षहरुमा मासिक ३ लाख बढी मोबाइल फोन आयात हुँदै आएकोमा अहिले बजार मागमा कमी आउँदा मासिक २ लाख सेट हाराहारीमा आयात हुने गरेको पाइएको छ ।

नेपालले चालु आर्थिक वर्षको साउनमा २ अर्ब ९३ करोड ४८ लाख रुपैयाँको २ लाख ५४ हजार थान मोबाइल फोन आयात गरेको थियो । त्यसैगरी, भदौमा २ लाख ६३ हजार थान र दशैंको माहोलले असोजमा भने ५ लाख ५ हजार ४४ थान मोबाइल फोन आयात गरेको थियो ।

त्यसैगरी, नेपालले कात्तिकमा २ लाख ४४ हजार ९८५ थान, मंसिरमा ३ लाख १५ हजार ३०७ थान र पुसमा २ लाख ३९ हजार ४७८ थान मोबाइलफोन आयात गरेको छ ।

नेपालले सबैभन्दा बढी चीनबाट मोबाइल फोन आयात गर्दै आएको छ । नेपालले ६ महिनाको अवधिमा १८ लाख थान स्मार्ट मोबाइल फोन आयात गर्दा चीनबाट मात्रै ११ अर्ब ७ करोड ७३ लाख रुपैयाँको १४ लाख ८५ हजार ८०९ थान आयात भएको छ ।

चीनपछि नेपालले भारतबाट बढी मोबाइल आयात गरेको छ । ६ महिनाको अवधिमा भारतबाट ४ अर्ब ४० करोड ३६ लाख रुपैयाँको ३ लाख ३२ हजार ८४४ वटा थान मोबाइल फोन आयात भएको छ ।

त्यसैगरी, नेपालले अष्ट्रेलियाबाट २ करोड ११ लाखको २०३ वटा, क्यानाडाबाट १६ लाख रुपैयाँको १९ वटा, फिनल्यान्डबाट १८ लाख रुपैयाँको १९ वटा, जर्मनीबाट २३ लाख रुपैयाँको ११ वटा, हङकङबाट २० लाख रुपैयाँको १७ वटा, जापानबाट ३ करोड ३७ लाख रुपैयाँको ४६१ वटा र दक्षिण कोरियबाट १ करोड १३ लाख रुपौयँको १८९ वटा आयात गरेको छ ।

विभागअनुसार ६ महिनाको अवधिमा कुवेतबाट २३ लाख रुपैयाँको १७७ वटा, मलेसियाबाट ३२ लाख रुपैयाँको २७३ वटा, कतारबाट १ करोड ६ लाख रुपैयाँको १८३ वटा, रोमनियाबाट १३ लाख रुपैयाँको १६ वटा, ७० लाख रुपैयाँको १०२ वटा, सिंगापुरबाट २८ लाख रुपैयाँको २५ वटा, युएईबाट ३ करोड ४४ लाख रुपैयाँको ३१७ वटा, बेलायतबाट ७२ लाख रुपैयाँको ८२ वटा, अमेरिकाबाट ४ करोड ९८ लाख रुपैयाँको ४८६ वटा र भियतनामबाट ५ करोड ७५ लाख रुपैयाँको ४७४ वटा मोबाइलफोन आयात भएको छ ।


क्लिकमान्डु