खराब कर्जा बढ्दा आत्तिनु पर्दैन, असुलीमा जोड दिनुहोस्: गभर्नर



काठमाडौं । अर्थतन्त्र संकुचनमा गएका कारण बैक तथा वित्तीय संस्थाहरुको खराब कर्जा (एनपीएल) बढ्दै गएको बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नआत्तिकन असुलीमा जोड दिन सुझाव दिएका छन् ।

बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले बैंकहरूको एनपीएलको विषयमा धेरै चिन्ता लिन नपर्ने बताएका हुन् ।

पछिल्लो समय बैंकको एनपीएलको विषयमा धेरै चिन्ता चासो बढेको बताउँदै उनले खराब कर्जा बढ्नु सामान्य विषय रहेको धारणा राखेका हुन् ।

‘कुनै समय राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ६० प्रतिशतसम्म हुन्थ्यो, अहिले ३ प्रतिशत हुँदा के के न भएकोजस्तो गर्छन्, त्यसैले खराब कर्जा बढ्दैमा धेरै आत्तिनु पर्ने अवस्था छैन,’ गभर्नर अधिकारीले भने, ‘अन्य बैंकको अवस्था पनि यही हो, खराब कर्जाको विषयमा धेरै चिन्तित बन्नु पर्दैन ।’

कुनै समय राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकको खराब कर्जा ६० प्रतिशतमाथि पुगेका कारण सरकारले विश्व बैंकको सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत ती बैंकमा विदेशी ब्यवास्थापन ल्याएर सुधार्नु परेको थियो ।

राजनीतिक नियुक्ति पाएका प्रमुख कार्याकारीका कारण सन् २००३ मा राष्ट्रिय वाणिज्य बैंकको खुद घाटामात्रै ४ अर्ब ८० करोड पुगेको थियो भने खराब कर्जा ६० प्रतिशत पुगेको थियो । जसकारण विश्व बैंकको सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रममार्फत राष्ट्रिय वाणिज्य बैंकको सुधार गरिएको थियो । नेपाल बैंकमा अमेरिकी नागरिक म्याकएलिस्टर अनि राष्ट्रिय वाणिज्य बैंकमा थोमस ब्राउनले व्यवस्थापन सम्हालेका थिए ।

बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले उक्त समयको स्मरण गर्दै खराब कर्जा ६० प्रतिशतसम्म पुगेको बैंकको अहिले ३ प्रतिशत हाराहारी हुनु चिन्ताको विषय नभएको बताएका हुन् ।

अर्थतन्त्र सुस्त भएको बेला यो किसिमको खराब कर्जा हुनु स्वभाविक रहेको गभर्नर अधिकारीले बताए । साथै, उनले अब बैंकहरूले कर्जा असुलीमा जोड दिनु पर्ने पनि बताए ।

राष्ट्रिय वाणिज्य बैंकको सुधारमा राष्ट्र बैंकले सुपरिवेक्षणको पनि योगदान रहेको उनले बताए ।

‘राष्ट्र बैंकले सुपरिवेक्षणले अहिले सरकारी बैंकका सबै सूचक ठिकठाक छन्, यसमा राष्ट्र बैंकको पनि भूमिका छ,’ उनले भने ।

तर, अर्थतन्त्रमा देखिएको सुस्तताको असर सम्पूर्ण बैंकिङ प्रणालीमा देखिएको छ । २०७९ पुसको तुलनामा २०८० पुसमा हाल सञ्चालनमा रहेका २० बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ भने खराब कर्जा ४७.१२ प्रतिशतले बढेर औसत ३.२६ प्रतिशत पुगेको छ । २०७९ पुसमा औषतमा २.२२ प्रतिशत रहेको वाणिज्य बैंकहरुको खराब कर्जा ४७(१२ प्रतिशतले बढेर ३.२६ प्रतिशत पुगेको हो ।

बैंकहरुको घट्दो नाफा र बढ्दो खराब कर्जाले आगामी दिनहरुमा अर्थतन्त्र थप संकटमा जाने अनुमान गर्न सकिन्छ ।२०८० पुस मसान्तसम्म १७ वटा बैंकको खराब कर्जा बढे पनि ३ बैंकको भने घटेको छ ।

पहिला राष्ट्र बैंकको नियामकीय प्रावधानअनुसार ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने वित्तीय संस्थाहरु शिघ्र सुधारात्मक कारबाहीमा पर्ने गर्दथे । पछिल्लो समय केन्द्रिय बैंकले यो प्राबधान हटाइसकेको छ ।

बैंकहरुले प्रवाह गरेको कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाखा नाघेको एक वर्ष पुगेको कर्जालाई खराब कर्जाको रुपमा लिइन्छ ।

बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई बैंकहरुले वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १‍.२५ प्रतिशत, १ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई वाचलिष्टमा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।

यस्तै ३ देखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।

बैंकले दिएको कर्जा ६ महिनादेखि १ वर्षसम्म साँवा ब्याज भुक्तानी नगरेमा त्यस्तो कर्जालाई शंकास्पद कर्जा मानी ५० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तै, १ वर्षभन्दा बढीको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जामा बैंकले शतप्रतिशत प्रोभिजन गरेर उक्त कर्जालाई खराब कर्जामा राख्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।


क्लिकमान्डु