लघु जीवन बिमाको बिजनेश बढाउँदै प्राधिकरण, वैदेशिक रोजगार बिमालेख बिक्री गर्न पाउने बाटो खुल्यो



काठमाडौं । लघु जीवन बिमा कम्पनीहरुलाई वैदेशिक रोजगार बिमालेख बिक्री गर्न बाटो खुलेको छ । नेपाल बिमा प्राधिकरणले लघुबिमा निर्देशन–२०८० संशोधन गर्दै लघु बिमाको व्यवसायिक दायरा बढाएको हो ।

लघु बिमा निर्देशन–२०८० को दफा २० मा उपदफा ४ थप्दै प्राधिकरणले वैदेशिक रोजगार (म्यादी) बिमालेख पनि बिक्री गर्न पाउने व्यवस्था गरेको हो । यस अघि जीवन बिमा कम्पनीहरुले मात्रै लघुबिमालेख बिक्री गर्दै आएका थिए । अब लघु जीवन बिमा कम्पनीहरुले पनि जिवन बिमा कम्पनीसरह ५ लाख रुपैयाँसम्मको वैदेशिक रोजगार बिमा जारी गर्न सक्ने छन् ।

सरकारले वैदेशिक रोजगारमा गएका नागरिकका लागि २०७३ सालबाट वैदेशिक रोजगार (म्यादी ) बिमालेख जारी गर्ने व्यवस्था गरेको थियो । वैदेशिक रोजगारमा गएका नागरिकका लागि ल्याइएको यो बिमालेख जीवन बिमा कम्पनीहरुले बिक्री गर्ने व्यवस्था संशोधन गर्दै प्राधिकरणले लघु बिमा कम्पनीले पनि गर्न पाउने व्यवस्था गरेको हो ।

लघु बिमाको व्यवसाय बिस्तारका लागि प्राधिकरणले वैदेशिक रोजगार बिमा गर्ने बाटो खुलाएको बताएको छ । ७ वर्षयता वैदेशिक रोजगार बिमामा जीवन बिमा कम्पनीहरुले मात्रै एकाधिकार जमाउँदै आएका थिए ।

प्राधिकरणले लघुबिमालाई म्यादी बिमा बिक्री गर्न पाउने अख्तियारी प्रदान गरेपछि जीवन बिमा कम्पनीको एकाधिकार तोडिने भएको हो ।

प्राधिकरणका प्रवक्ता राजुरमण पौडेल लघु बिमा कम्पनीको व्यवसाय बिस्तार गर्नु प्रमुख उदेश्य रहेको बताउँछन् । ‘हामीले जीवन बिमा कम्पनीकै सरह लघु बिमा कम्पनीले पनि वैदेशिक रोजगार बिमा गर्न पाउने व्यवस्था गरेका हौँ,’ उनले भने ।

जीवन बिमा कम्पनीले हाल घातक रोगका लागि ५ लाख रुपैयाँ बराबरको वैदेशिक राजगार बिमा गर्दै आएको छ । सोही सीमामा रहेर अब लघुबिमा कम्पनीले पनि बिमालेख बिक्री गर्न पाउनेछन् ।

हाल लघु बिमा कम्पनीहरुले ५ प्रकारका बिमालेख बिक्री गर्दै आएका छन् । अब वैदेशिक रोजगार बिमालेख पनि थपिएको हो । जीवन बिमा कम्पनीहरुको धेरै बिक्री हुने बिमालेखमा वैदेशिक रोजगार बिमालेख चौथो स्थानमा छ ।

मंसिर महिनासम्ममा जीवन बिमा कम्पनीहरुले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरका १८ लाख ६६ हजार वटा वैदेशिक रोजगार बिमालेख बिक्री गरेका थिए । यस हिसाबले अब लघु बिमाको पनि व्यवसाय बढ्ने देखिन्छ ।

गार्डियन लघु जीवन बिमा कम्पनीका सूचना अधिकारी ज्योतिप्रकाश पाण्डे वैदेशिक रोजगारमा जाने नागरिकको संख्या बढिरहेको अवस्थामा प्राधिकरणले लघुबिमालाई थप बलियो बनाउने रणनीति लिनु प्रशंसनीय रहेको बताउँछन् ।

‘संशोधित मार्गदर्शन कार्यन्वयनमा आएपछि पक्कै पनि लघुबिमा कम्पनीहरु व्यवसायीक रुपमा खुम्चनुपर्ने वातावरण हट्ला’ उनले भने । लघुबिमा कम्पनीको व्यवसायीक विस्तार मात्रै नभएर वैदेशिक रोजगार बिमा गराउन चाहनेहरुलाई पनि सहज हुने उनको तर्क छ ।


क्लिकमान्डु