नेपाली मूलका उद्यमी डा.मास्केको फ्युज मेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुने



काठमाडौं । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टलिजेन्स) को क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमी डा. समीर मास्केको स्टार्टअप कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्ड्याकमा सूचीकृत हुने भएको छ ।

सन् २०१३ मा डा. मास्केले सुरु गरेको फ्युज मेसिन इन्क नास्ड्याकमा सूचीकृत हुने भएको हो । डा मास्केले नेपालमा पनि फ्युज मेसिन कम्पनी संचालन गर्दछन् । तर, नास्डयाकमा सूचीकृत हुने फ्युज मेसिन इन्क अमेरिकी कम्पनी हो । नेपालमा संचालनमा रहेको फ्युज मेसिनमा विजनेस अक्सिजनले लगानी गरेको छ । नास्ड्याकमा सूचीकृत हुने कम्पनी फ्युज मेसिन इन्क युएसए हो ।

फ्युज मेसिन इन्कले विभिन्न कम्पनीहरुमा आवश्यक कृत्रिम बौद्धिकताका प्रोडक्टहरु विकास गर्दछ ।

अमेरिकामा मुख्यालय रहेको फ्युज मेसिनले नेपाल, डोमिनिक रिपब्लिकलगायतका देशमा कार्यालय स्थापना गरी आफ्नो काम गर्दै आएको छ ।

नास्ड्याकमा सूचीकृत हुने लक्ष्यसहित फ्यूज मेसिन र सीएसएलएम एक्विजिसन कर्पबीच मर्जर सम्झौता भएको छ । सम्झौतापछि फ्युज मेसिनले चालु पुँजी प्रयोजनका लागि सीएसएलएमबाट झण्डै २ करोड अमेरिकी डलर लगानी प्राप्त गर्ने प्रेस विज्ञप्तिमा जनाइएको छ । फ्यूज मेसिनको कुल मूल्याङ्कन २ सय मिलियन अमेरिकी डलर (२२६ अर्ब रुपैयाँ) हुने गरी मर्जरको सम्झौता भएको अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट पीएचडि गरेका डा. मास्केले जनाएका छन् ।

फ्यूज मेसिनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मास्केले सो रकमले नयाँ प्रोडक्ट विकास गर्न सहयोग पुग्ने बताएका छन् ।

सन् २०२४ को दोस्रो त्रैमासको अन्त्यसम्ममा नास्ड्याकमा सूचीकृत हुनेगरी मर्जर सम्झौतालाई अगाडि बढाइएको विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु