भिजिट भिसामा विदेश जान आजदेखि चाहिन्छ यी कागजपत्र



काठमाडौं । भिजिट भिसामा विदेश जानेहरुमाथि कडाइ गरिएको छ । अध्यागमन विभागले ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो ।

भिजिट भिसामा जान चाहनेहरूले ६ महिनाको वैध अवधि भए‌को राहदानीदेखि दुईतर्फी हवाई टिकट देखाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो ।

भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने क्रम बढेपछि अध्यागमनले यसलाई थप कडाइ गरेको हो ।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पनि साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट/क्रेडिट कार्ड) पनि हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण चाहिने पनि अध्यागमनले जनाएको छ ।

युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने उल्लेख गरिएको छ ।


क्लिकमान्डु