नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने



काठमाडौं । नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच खानी तथा भूगर्भ विभाग, सिमेन्ट उत्पादक संघ, नेपालस्थित स्विस दूतावास र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेण्ट संस्था (भारत) ले अध्ययन सम्झौतामा संयुक्त हस्ताक्षर गरेका छन् ।

यस अध्ययनलाई नेपालस्थित स्विस दूतावासको आर्थिक प्राविधिक सहयोग गर्नेछ भने टेक्नोलोजी एण्ड एक्शन फर रुरल एड्भान्समेण्ट संस्था (भारत) ले भूगर्भ विभाग र सिमेन्ट उत्पादक संघको सहयोगमा अध्ययन गर्नेछ ।

यस अध्ययन परियोजनाले नेपालको सिमेन्ट उद्योगलाई डिकार्बोनाइज कसरि गर्न सकिन्छ ? भन्नेबारे प्राविधिक परीक्षण हुनेछ । कार्यक्रममा नेपाल खानी ताथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अध्ययनले नेपालमा नयाँ प्रकारको सिमेन्ट प्रोडक्शनलाई अगाडी बढाउने नतिजा दिने बताए ।

उनले नेपालमा भएको रातो वा कमेरो माटो प्रयोग गरेर क्लिंकरलाई ५० प्रतिशत क्लिंकर अरु ३० प्रतिशत क्ले राखेर र यसलाई क्याल्साइन बनाएर नयाँ मिश्रण बनाइने उल्लेख गरे । फेरि यसमा जिप्सम मिसाएर र अरु १५ प्रतिशत लोग्रेट ल्यामुसनलाई मिसाएपछि नयाँ प्रकारको सिमेन्ट बन्ने बताए ।

यसलाई नै एलसी थ्री सिमेन्ट भनिने उल्लेख गरे । यो अध्ययनले नेपालको माटो र क्लिन्करको अध्ययन गरेर सिमेन्ट बनाउन सकिनेबारे निष्कर्ष दिने बताए । एक वर्षसम्म स्थलगत अध्ययन गरेर प्राप्त नतिजालाई औद्योगिक उत्पादनको परीक्षण गरेर मात्र व्यवसायिक उत्पादन गर्न सकिने वा नसकिनेबारे प्रतिवेदन आउने महानिर्देशक घिमिरेले बताए ।

नेपालमा एलसी थ्री सिमेन्ट उत्पादन गर्नसके सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलाको खपत कम हुने उनले बताए ।
यसले वातावारणमा जाने कार्बन कम हुने महानिर्देशक घिमिरेको भनाइ छ ।

एलसी थ्री सिमेन्टमा ५०% क्लिंकर, १५% गैर–सिमेन्ट ग्रेडको चुनढुङ्गा, ३०% क्याल्साइन गरिएको माटो (गैर सिरेमिक ग्रेड) र ५% जिप्सम हुन्छ । यो सिमेन्ट उत्पादनमा ४०% भन्दा बढी कार्बन उत्सर्जन घटाउन सक्छ । यो प्रविधि भारत र अन्य २९ देशमा अपनाइसकिएको छ ।


क्लिकमान्डु